कभर स्टोरी

नेपाली काँग्रेसको १४औँ महाधिवेशन मिति हेरफेर हुने

By Bala Adhikari

July 24, 2021

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको साउन १२ गतेबाट हुने भनिएको वडा तहको अधिवेशन कम्तीमा १५ दिन सर्ने निश्चित भएको छ । सरकार सञ्चालन, कोभिड महामारी, वर्षायाम, बाढीपहिरो, क्रियाशील सदस्यता विवाद र अन्य पूर्वतयारी भइनसकेकाले तय भएको कार्यतालिका प्रभावित हुने भएको हो ।

केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकाको मस्यौदा र अन्य पूर्वतयारी टुंगो लागिसकेको छैन । यी कारणले पनि केन्द्रीय महाधिवेशनको मिति पर धकेलिने निश्चित जस्तै देखिएको छ । सबैभन्दा बलियो जग ठानिने तल्लो तह जहाँ ६ हजार सात सय ४३ वडामा एकसाथ अधिवेशन गर्ने तालिका तय भएको थियो ।

त्यसको पनि अहिलेसम्म त्यस्तो तयारी भएको देखिँदैन । अहिलेसम्म क्रियाशिल सदस्य विवादमै अल्झिइरहिएको छ । नेपाली काँग्रेसको १३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य रहेकामा यस पटक ८ लाख ५० हजारमाथि पु-याइएको छ । उसोत अधिवेशनका लागि न मतदाताको टुंगो लागेको छ, न निर्वाचनको तयारी नै ।

केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म निर्वाचनको निर्देशिकासमेत जारी गर्न सकेको छैन । त्यसकारण पनि साउन १२ गतेबाट अधिवेशन सुरु हुने विषय अनिश्चित भएको देखिन्छ । किन भने क्रियाशील सदस्यकै टुंगो नलागेको अवस्थामा वडाको अधिवेशन नहुने निश्चित भइसकेको भए पनि अधिवेशन हुँदैन भनेर कसैले पनि नभनेको भन्दै नेता सिटौलाले ‘कांग्रेस यथार्थ भन्न डराउने अवस्थामा’ पुगेको टिप्पणी गरेका छन् ।

तल्ला तहको अधिवेशन अनिश्चित हुँदा भदौमा गर्ने भनिएको महाधिवेशन पनि सर्ने सम्भावना बढेको छ । बैठकमा सभापतिजी र रामचन्द्रजी दुवैले भदौमै जसरी पनि महाधिवेशन हुन्छ भन्नुभयो । अब पहिले तोकेको मितिमा महाधिवेशन हुँदैन भनेर सबैलाई थाहा छ ।