काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भंग गरेकी छन् । उनीले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत भएको खेलमा ६१६ दशमलव ८ अंक बनाउँदै राष्ट्रिय कीर्तिमानमा आँखा लगाएकी हुन् ।
सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव २, दोस्रोमा १०५ दशमलव ४, तेस्रोमा १०१ दशमलव ०, चौंथोमा १०४ दशमलव १, पाँचौँमा १०३ दशमलव ४ तथा छैटौं सिरिजमा १०० दशमलव ७ अंक प्राप्त गरिन् । परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ६१४ दशमलव ५ अंक प्राप्त गरेकी थइन् ।
त्यसबेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान हासिल गरेकी थिइन् । परियार सागमा चौंथो भएकी थिइन् । उनी टोकियो ओलम्पिक छनोटको चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिइएकी हुन् । परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी थिइन् । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव ९ अंकका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव ७ अंकसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव ४ अंकका साथ तेस्रो भए ।
टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० सय मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्दैछिन् ।