कभर स्टोरी

देउवा नेतृत्वको सरकार गठबन्धन कार्यदल बैठक बस्दै

By Bala Adhikari

July 25, 2021

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन गठित कार्यदलको बैठक बस्दै छ । मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम–कारबाही सम्बन्धमा साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक आइतबार अपराह्न ४ बजे. बस्न लागेको हो।

केही दिनअघि सत्ता साझेदार दलहरूले कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा कांग्रेसबाट संयोजक खड्कासहित ३, नेकपा माओवादी केन्द्रबाट २ र जनता समाजवादी पार्टी (जसपा) बाट २ जना सदस्य छन् । कार्यदलमा महामन्त्री खड्कासहित कांग्रेस नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।

माओवादी केन्द्रका नेता पुनले सरकारलाई काम गर्न सहज हुने गरि कार्यदल बनाइएको र यसले मन्त्रालय बाँडफाँट, साझा नीति तथा कार्यक्रम र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई सुझाव दिने बताएका छन् । उनका अनुसार कार्यदलले कूटनीतिक क्षेत्रका अन्य र राजदूत नियुक्तिलगायतमा पनि गठबन्धनका दलबीच भएका सहमतिका आधारमा नाम टुंगो लगाउने काम गर्ने जनाइएको छ ।