कभर स्टोरी

स्थानीय तहको निर्वाचनको बारेमा प्रम देउवा र दाहालबीच छलफल

By Bala Adhikari

September 17, 2017

काठमाडौँ, असोज १ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य आवश्यक विषयका बारेमा कुराकानी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको हो । प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री दाहालले सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् । यस्तै प्रधानमन्त्री देउवाले यही असोज ३ गतेदेखि संयुक्त राष्ट्र संघको महासभामा सहभागिताका लागि गर्न लागेको संयुक्त राज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमा समेत छलफल गरेका थिए ।

त्यस्तै प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमा समेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको व्यस्तताका कारण सरकार सञ्चालन लगायतका विषयमा दुई दलका बीचमा छलफलसमेत हुन नपाएका सन्दर्भमा नेपाली काँग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।