nc news

निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

By Rajesh

August 31, 2022

काठमाडौं । नेपालले अन्तिम तथा निर्णायक मानिएको टी–२० मा घरेलु टोली केन्यालाई जितेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो ।

जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रनमा समेटिएको थियो । केन्याका लागि नेहेमिह ओधिएम्बोले सर्वाधिक ३७ रन बनाए ।

कप्तान सेन एन्गोचेले अविजित ३३, इरफान करिमले २८, कोलिन्स ओवुयाले २३ र नेल्सोन ओधिएम्बोले अविजित १३ रन बनाए । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई दुई विकेट लिए । करण केसी, आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झारे ।

यसअघि ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ सहयोगमा नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।सम्हालिएको ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५९ रन बनाए । उनले ४४ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन जोडेका छन् । मल्ल प्लेयर अफ दि म्याच बने । रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

बलिङमा केन्याका नेहेम्याह ओडिम्बो, सेम नेगोचे र भिराज पटेलले दुई दुई विकेट लिए । लुकास ओलुचले एक विकेट लिएका थिए । पाँच खेलको टी–२० सिरिजमा नेपालले पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटको जित निकालेको थियो ।

कमजोर ब्याटिङका कारण नेपाल दोस्रो खेलमा १८ र चौथो खेलमा सात रनले पराजित भएको थियो । नेपालले अब केन्यासँग भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज खेल्नेछ