आर्थिक

मन्त्रिपरिषद्को निर्णय फिर्ता गर्न माग राख्दै चिकित्सकले गरे प्रदर्शन

By Bala Adhikari

September 21, 2017

काठमाडौँ, असोज ५ । उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता लिनका लागि माग राख्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

उनीहरुले सम्बद्ध पेशगत संघ सस्थाको अगुवाइमा आज माइतीघरमण्डलामा सो निर्देशन फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले पनि सरकारसित सो निर्णय फिर्ता लिन माग गर्दै भोलिदेखि देशभरका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वास्थ्य मन्त्रालयलाई उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न निर्देशन दिएको थियो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई कार्यान्वयनमा ल्याउन चिकित्सकले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।