nc news

अर्जेन्टिनाको जितपछि अस्पतालबाट पेलेको भावुक सन्देश – ‘डिएगो मुस्कुराइरहेका होलान्…

By Rajesh

December 20, 2022

काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेले अर्जेन्टिनाका लियोनल मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएका छन् । यससँगै उनले फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका किलियन एमबाप्पेलाई पनि बधाई दिए । खेलाडीका रूपमा कीर्तिमानी तीन पटक विश्वकप जितेका पेले अहिले श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका छन् ।

कतारको लुसेल रंगशालामा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले अर्जेन्टिनाले हराएपछि उनले आफ्नो सन्देश इन्स्टाग्राममा पोष्ट गरेका हुन् । अतिरिक्त समयमा अर्जेन्टिना र फ्रान्स ३–३ गोलको बराबरीमा रोकिएपछि सुटआउटको सहारा लिइएको थियो ।

लेजेन्ड पेलेले भने, ‘फुटबलले आज फेरि आफ्नो कथा रोचक ढंगले सुनायो । मेस्सीले आफ्नो पहिलो विश्वकप जितेका छन्, जसको उनी पूर्ण हकदार थिए। मेरो प्यारो साथी एमबाप्पेले फाइनलमा चार गोल (पेनाल्टी सुटआउट सहित) गरे। हाम्रो खेलको भविष्यको लागि यो उत्कृष्ट प्रदर्शन हेर्न पाउनु कुनै उपहार भन्दा कम थिएन।’