कभर स्टोरी

नेपाली भाषा संस्कृतिको संरक्षण गर्न प्रधानमन्त्री देउवाको आग्रह

By Bala Adhikari

September 24, 2017

असोज ८ । विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति जोगाउन नसके नेपालीको पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले अनुरोध गरेका छन् ।

नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आयोजित स्वागत समारोहमा बोल्दै उनले विभिन्न अवसरका लागि विदेशमा गएका नेपाली नागरिकले आफ्नो भाषा संस्कृति बचाउन सकेमा मात्र नेपालीहरुको पहिचान कायम रहने बताए । विदेशमा दुःख गरेर नेपाली नागरिकले मुलुकमा पठाएको आम्दानीले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले नेपालमा लगानी र विकासका अथाह सम्भावना रहेकोले नेपालमा लगानी गरे सरकार लगानीको सुरक्षा र ग्यारेन्टी गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर भएको बताउँदै नेपालको नीति लगानीमैत्री भएको जानकारी गराए । उनले मुलुकमा संविधानसभाबाट संविधान जारी हुनाका साथै संविधानले सबै वर्ग, क्षेत्र र लिङ्गका मौलिक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे ।

नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रुपमा सफलता हासिल गरेको बताउँदै विदेशमा रहेका नेपालीलाई आर्जन गरेको साधन, स्रोत र सीप लगानी मुलुकका निम्ति खर्चिन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आग्रह गरे । उनले संविधान अनुसारका तीनै तहका निर्वाचन सम्पन्न भए पश्चात मुलुक अब समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।