कभर स्टोरी

मेलम्चीको पानी उपत्यकामा ल्याउन ५५ किमी पाइप बिच्छ्याउन बाँकी

By Bala Adhikari

October 06, 2017

काठमाडौँ, असोज २० । मेलम्चीको पानी उपत्यकामा ल्याउनको लागि ५५ किमी पाइप बिच्छ्याउने काम बाँकी रहेको छ । उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाएको छ ।

असोजमै पानी ल्याइसक्ने सरकारको लक्ष्य रहेको भए पनि सुरुङको काम बाँकी रहँदा वर्षा याममा सडक हिलाम्मे हुने भएपछि निर्देशनालयले उपत्यकाका मुख्य सडकमा पाइप बिच्छ्याउने काम केही समयका लागि स्थगित गरेको थियो । वर्षा याममा सडक खनेर पाइप बिच्छ्याउँदा धुलो र हिलोका कारण आवतजावतमा समस्या उत्पन्न भएपछि वर्षा नसकिएसम्मका लागि रोकिएको काम पुनः शुरु गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताएका छन् । उनका अनुसार पानी वितरणका लागि ६० किमी थोक वितरण प्रणालीको पाइप बिच्छ्याइएको र ६० किमीमध्ये पाइप जोड्नुपर्ने स्थानबाहेकमा काम सकिएको छ ।

वितरण सञ्जालको ५५ किमी पुस मसान्तसम्ममा सक्ने योजना रहेको उनले बताए । पुस मसान्तसम्म पहिलो चरणमा पानी वितरण गरिने स्थानमा पाइप बिच्छ्याइसक्ने योजना रहेको निर्देशनालयले जनाएको छ । पाइप बिच्छ्याइएको स्थानमा पाइप परीक्षण पनि शुरु गरिएको छ । सुन्दरीजलबाट बाग्मतीको पानी प्रशोधन केन्द्रमा लगेर पाइप परीक्षण गरिएको हो ।

बाँकी करिब डेढ किमी सुरुङ निर्माण सकेर चैत मसान्तसम्म पानी काठमाडौँ भित्र्याईसक्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी सुरुङ निर्माण गरेर उपत्यकामा मेलम्ची खोलाको पानी ल्याउने काम अन्तिम चरणमा पुगिसकेको छ ।