कभर स्टोरी

डेंगु रोगको उच्च जोखिममा राजधानी

By Bala Adhikari

October 09, 2017

काठमाडौं, असोज २३ । स्वास्थ्य मन्त्रालयले राजधानीमा डेंगु रोगको उच्च जोखिम रहेको जनाएको छ । राजधानीमा डेंगु रोगको उच्च जोखिम रहेको र विशेष सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

यस वर्ष ३५ जिल्लाका २ सय १० जनामा डेंगु रोग देखा परेको छ । सबैभन्दा बढी सर्लाहीमा डेंगु रोगको संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयका जोखिम नियन्त्रण निरीक्षक उत्तमराज प्याकुरेलले जानकारी गराए । सर्लाहीमा १ सय ७, धादिङमा २५, चितवनमा १२ जनालाई डेंगु रोग देखा परेको छ । यस्तै काठमाडौंसहित रूपन्देही, नवलपरासी, धनुषा लगायतका जिल्ला डेंगु रोगको जोखिममा छन् ।

सरकारले चालू आर्थिक वर्षमा डेंगु रोग नियन्त्रणका लागि ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । जोखिमको प्रकृति हेरेर कम जोखिम भएका जिल्लामा २ लाख र उच्च जोखिम भएका जिल्लामा १० लाख रुपियाँसम्म बजेट विनियोजन गरिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले बजेट छुट्याए पनि बजेट निकै न्यून मात्रामा विनियोजन गरिँदा जोखिम नियन्त्रणका लागि सञ्चालित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको सरोकारवाला निकायका अधिकारीहरूले स्वीकार गरेका छन् ।

जोखिम नियन्त्रण निरीक्षक प्याकुरेलका अनुसार डेंगु रोग सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने काम गर्दै जनचेतनामूलक कार्यक्रमलाई समेत अघि बढाइएको छ । यस वर्ष स्वास्थ्य मन्त्रालयले जोखिम नियन्त्रणका लागि ३५ जिल्लामा बजेटसमेत छुट्याएको छ । डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रण अन्तर्गत बजार क्षेत्रमा पानी राख्ने भाँडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाइ रहे नरहेको हेरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

गत वर्ष १ हजार ५ सय २९ जनामा डेंगु रोग भेटिएको थियो भने २ जनाको ज्यान गएको थियो । २००६ मा भारतबाट आएका एक जना नेपाली नागरिकमा पहिलोपटक डेंगु रोग देखा परेको थियो । एक्कासि उच्च ज्वरो आउनु, धेरै टाउको दख्नु, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्नु, शरीरमा बिमिरा आउने, रक्तश्राव हुने लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिने पाल्पा मेडिकल कलेजमा कार्यरत डा. नवीन पोख्रेलले बताएका छन् । डेंगु नियन्त्रणका लागि हालसम्म कुनै भ्याक्सिन आएको छैन ।