कभर स्टोरी

वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा : डा खड्का

By Bala Adhikari

October 16, 2017

उदयपुर, असोज ३० । पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास मन्त्री डा. खड्काले बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियन उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए । माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना हुने खालको वातावरण बन्ने बताए । उनले माओवादी केन्द्रको सरकारमा पनि रहने र प्रतिपक्षसँग पनि गठबन्धन गर्ने दोहोरो चरित्र स्वीकार्यता नहुने बताए ।

वाम गठबन्धनले छिमेकी मुलुकसँगको सन्तुलन खलबलिने खतरा रहेको बताउँदै डा. खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीलाई नैतिक रुपमा सरकारबाट फिर्ता बोलाउनु पर्नेमा जोड दिएका थिए । एक अर्र्के प्रसंगमा उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको उपलब्धि भएको बताए । आन्दोलनरत दललाई निर्वाचनमा सहभागी गराउनु र संविधानलाई सर्वस्वीकार्य बनाउनु सरकारको उपलब्धि भएको उनको भनाई छ ।

संविधानसभाको निर्वाचन २०६४ र २०७० सालमा उदयपुरबाट निर्वाचित डा. खड्का आगामी प्रतिनिधिसभाको निर्वाचनमा उदयपुर क्षेत्र नं १ बाट आफू उम्मेदवारी बन्ने सम्भावना बढेको समेत बताए ।