कभर स्टोरी

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता

By Bala Adhikari

October 23, 2017

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार पहिलो चरण अन्तर्गत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।