कभर स्टोरी

प्राविधिक शिक्षामा लगानी बढाइने : राज्यमन्त्री

By Bala Adhikari

October 24, 2017

काठमाडौँ । प्राविधिक शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउने शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रतिबद्धता गरेका छन् ।

सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ विषयक छलफल कार्यक्रममा बोल्दै राज्यमन्त्री अधिकारीले विश्व परिवेश सुहाउँदो प्राविधिक र व्यावसायिक शिक्षाको विकास गरी मुलुकमा विद्यमान रहेको बेरोजगारीलाई अन्त्य गर्नका लागि लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले यस क्षेत्रमा विद्यार्थी र बजारको माग बढेकाले सरकारले लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिहं महरले सरकारले अध्यादेशबाट ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा नयाँ मेडिकल खोल्न रोक लगाउन नहुने विचार राखे ।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले सरकारले प्रतिबद्धता गरे अनुसार शिक्षा क्षेत्रमा लगानी गर्न नसकेको गुनासो व्यक्त गरे ।

अनेरास्ववियुका सचिव समिक बडाल, नेकपा निकट अनेरास्ववियु (क्रान्तिकार) का महासचिव दीपेन्द्र चलाउने, शिक्षा पत्रकार समूहका पूर्वाध्यक्ष प्रकाश सिलवाल, नेपाल पत्रकार महासंघ काठमाडौँका अध्यक्ष शन्तराम बिंडारी, केन्द्रका अध्यक्ष गोविन्द चौलागाईँ लगायतले माध्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको भएकाले ती तहलाई प्रभावकारी बनाई प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने कुरामा जोड दिए ।