कभर स्टोरी

स्थानीय निर्वाचनले संघीय लोकतन्त्रलाई बलियो बनाउने : प्रम

By Bala Adhikari

October 24, 2017

काठमाडौँ, कात्तिक ७ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको शिष्टाचार भेटमा उनले स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको र निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा, सुविधा जनताको घर आँगनमै प्रदान गर्न शुरु गरिसकेका बताउँदै यसबाट स्थानीय प्रजातन्त्र सुदृढ र बलिलो हुँदै जान थालेको उल्लेख गरे ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि जनताको उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरेको उनका परराष्ट्र सल्लाहकार डा दिनेश जानकारी दिए । प्रधानमन्त्री देउवाले नेपाल सरकारले संविधानको कार्यान्वयन गर्न तीनै तहको निर्वाचनलाई प्राथमिकता दिएको र संविधानको कार्यान्वयबाट मात्र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरेको डा भट्टराईले जानकारी गराए ।

प्रधानमन्त्रीले स्थानीय निकाय तथा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनले उल्लेख्य महिला नेतृत्वको चयन हुने बताए । सो अवसरमा राजदूत टेप्लिजले अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान सहयोगका विविध पक्षमा जानकारी दिएका थिए । एमसिसीमार्फत नेपाललाई अमेरिकी सरकारले सडक पूर्वाधार, विद्युत प्रसारण लाइन विस्तार लगायत क्षेत्रको विकास र विस्तार गर्न हालै ५० करोड अमेरिकी डलर उपलब्ध गराएको थियो । सो रकम हालसम्मकै उच्च अनुदान रकम हो । नेपालले केही बर्षयता हासिल गरेका विकास निर्माण, सुशासन, समावेशिता, बालस्वास्थ्य, खोप, प्राथमिक शिक्षामा पहुँच, प्राकृतिक स्रोत संरक्षण लगायत क्षेत्रमा प्राप्त गरेका महत्वपूर्ण उपलब्धिका कारण सो अनुदान प्राप्त गरेको हो ।

प्रधानमन्त्री देउवालाई राजदूत टेप्लिजले नेपालले एमसिसी अनुदान प्राप्त गरेकामा बधाई दिँदै खर्च गर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिएका डा भट्टराईले बताए ।