कभर स्टोरी

कात्तिक १७ देखि नुवाकोटमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

By Bala Adhikari

October 30, 2017

नुवाकोट, कात्तिक १३ । नुवाकोटमा यही कात्तिक १७ र १८ गते १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

खेल व्यवस्थापन समितिका संयोजक वासुदेव भट्टले नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटद्वारा आयोजित राष्ट्रियस्तरका सिनियर र जुनियर दुवैतर्फको प्रतियोगिता सञ्चालन गर्न लागेको बताएका छन् । प्रतियोगितामा साविकको पाँच विकास क्षेत्र, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी र आयोजक नुवाकोट गरी आठ समूको सहभागिता रहने भएको छ ।

संयोजक भट्टले प्रतियोगितमा पुरुषतर्फ २० केजीदेखि ८० केजीसम्मका गरी विभिन्न तौल समूहका १३ जना र महिलातर्फ २१ केजीदेखि ७५ केजीसम्मका १२ जना गरी एक समूहबाट २५ जनाको सहभागिता रहने बताए । प्रतियोगिता एकल स्पाएरिङ र एकल प्याट्रन गरी दुई विधामा सञ्चालन गर्न लागेको आइटीएफ तेक्वान्दो नुवाकोटका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

उक्त प्रतियोगितामा सहभागी हुनेले ४१ स्वर्ण, ४१ रजत र ८२ कास्य पदक गरी १६४ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतियोगितामा करिब २०० खेलाडीको सहभागीता हुने आयोजकले जानकारी गराएको छ ।