भक्तपुर, कात्तिक १३ । एक दलीय तानाशाह अन्त्य गर्नका लागि लोकतन्त्रवादी एक हुनुपर्ने सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
सोमबार भक्तपुरमा नेपाली काँग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको लोकार्पण गर्दै उनले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धन विरुद्ध सबै लोकतन्त्रवादीलाई एक हुन आग्रह गरे ।
वाम गठबन्धनका नाममा नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने दलसँग काँग्रेस विचलित नहुने उल्लेख गर्दै मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । मुलुकको विकासमा नेपाली काँग्रेसले गरेको कामको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको उनले बताए ।
कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे श्रेष्ठ, पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेल, पार्टी जिल्ला सभापति दुर्लभ थापालगायतले नेता रामबहादुर ठकुरीले प्रजातन्त्र स्थापनामा खेलेको भूमिका र योगदानको चर्चा गरे ।