कभर स्टोरी

माओवादी नेता ढुंगेल पक्राउ, हत्यारालाई जोगाउने खेल असफल

By Bala Adhikari

October 31, 2017

काठमाडौँ, १४ कार्तिक । माओबादी केन्द्रका पूर्व सांसद बालकृष्ण ढुंगेललाई सीआईबीको टोलीले आज पक्राउ गरि जिल्ला अदालत काठमाडौँमा बुझाएको छ ।

उज्जन कुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेल लामो समयदेखि फरार रहँदै आएका प्रशासनसँग लुकामारी गरीरहेका उनलाई हत्याको आरोपमा अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले मंगलबार विहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको सीआईबीले जनाएको छ । सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

उज्जन श्रेष्ठको हत्याको प्रमुख पात्र ढुंगेललाई २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । अस्थिर राजनीतिक र विभिन्न बहानामा ने.क.पा. माओवादीबाट बचाउ गरिएका व्यक्ति ढुंगेललाई त्यसपछि पुनरावेदनमा जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो तर, २०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला सर्वस्वसहित जन्मकैदको सजाय सुनाउँदा ढुंगेल बहालवाला सभासद् थिए । तर, राजनीतिक आडमा उनलाई कुनै पनि सरकारले अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै पीडित श्रेष्ठ परिवारका सदस्यहरुले आपत्ति जनाउँदै आएका थिए ।

गत फागुन ३० गते गृहजिल्ला ओखलढुंगामा एक सार्वजनिक कार्यक्रममा अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्ने ढुंगेलले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए । त्यसपछि अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेलविरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दा दायर गराएका थिए ।

गत चैत ३१ गते उक्त मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलाशले सात दिनभित्र ढुंगेललाई पक्राउ गरी सर्वाेच्च अदालतमा हाजिर गराउन प्रहरी महानिरीक्षकको नाममा वारेन्ट जारी गरेका थिए । साथै सर्वोच्च अदालतले ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको थियो । अदालतको उक्त आदेश पलना नगरेको भन्दै हालै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अदालतको अपहेलना सम्बन्धि मुद्दा दायर समेत गरिएको छ । यसैबीच आफ्ना नेता ढुंगेललाई प्रहरीले पक्राउ गरेको विषयमा माओबादी केन्द्रको आपतकालिन बैठक डाकी मा.के. का प्रमुख नेताहरु छलफलमा जुटेका छन् ।

माओबादीले युद्धका बेला भएका घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गर्नुपर्ने बताउँदै ढुंगेलको मुद्दामाथि ढाकछोप गर्दै टार्दै आएको थियो । आफ्नो भाइलाई हत्या गर्ने हत्यारालाई माओवादीले विभिन्न बहानामा संरक्षण गर्दै आएको मा.के. प्रति रुष्ट दिदी सावित्रीलाई मंगलबार बालकृष्ण ढुङ्गेल पक्राउ परेको खबर सुन्दा पत्यार नै लागेन । प्रहरीका उच्च अधिकारीसँग एउटै मञ्च बस्दा पनि पक्राउ गर्न नसकेको ढुङ्गेल कम्युनिस्ट गठबन्धनपछि एमाले कार्यकर्तासँग चुनावी रणनीतिमा सक्रिय फोटोसमेत सार्वजनिक भएको थियो ।

ढुंगेलविरुद्ध आइलाग्ने एमाले कार्यकर्ता नै ढुंगेलसँगै सहकार्य पश्चात प्रक्राउ परेको विषय सावित्रीका लागि आश्चर्य बन्यो । ’पक्राउ परेको हल्ला त सुनेकी छु तर, अहिलेसम्म प्रहरीले औपचारिक रुपमा पक्राउ गरेको जानकारी दिएको छैन,’ सावित्रीले भनिन् ‘यदि त्यसो भयो भनेमात्र मलाई उनी पक्राउ परेको विश्वास लाग्ने छ ।’ पक्राउ गरेकै भए पनि शक्तिको जोगिदै आएका ढुंगेल शक्तिकै आडमा छुटिहाल्छन् कि भन्ने चिन्ताले पनि उनलाई सताइरहेको छ । न्यायालयले सही फैसला गरे पनि हामीले न्यायको महशुस पाएका थिएनौं,’ सावित्रीले भनिन् ।

न्यायालयको फैसला कार्यान्वयन गर भन्न पनि हामीले राज्यसँग भिख मागे झै गर्नुपर्यो र यतिका दिनसम्म पनि हामीले न्याय मागेर हिँड्दा थप क्षति बेहोर्नु परेको सावित्री दुखेसो पोख्छिन् । उनले ढिलै भए पनि पक्राउ पर्दा राहत महसुस गरेको बताइन् । ‘यो देशमा न्याय अझै मरेको रहेनछ भन्ने महशुस मैले गरेकी छु,’ सावित्रीले भनिन् । उनले हत्यारालाई समातिएको भए पूरा सजाय दिन र कुनै पनि बाहनामा छुट नदिन सरकारसँग आग्रह गरेकी छिन् । ‘हत्याराले पूरा सजाय भोग्नुपर्ने बताउँदै राष्ट्रपति वा अन्य निकायबाट त्यस्ता अपराधीलाई सजाय छुट नदिन सावित्रीले अनुरोध गरेकी छिन् ।