काठमाडौँ, कात्तिक २० । रासायनिक मलको समुचित प्रयोगका बारेमा कृषक तथा सहकारी संस्थालाई साल्ट ट्रेडिङ कर्पोरेशनले जानकारी दिन थालेको छ ।
यसका लागि कर्पोरेशनले भारतको साई मल उद्योगको सहकार्यमा जनकपुर, विराटनगर, भरतपुर, इलाम, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, दाङ, धनगढी, महेन्द्रनगर लगायतका स्थानहरुमा आजदेखि तालीम सञ्चालन गर्ने बताएको छ ।
काठमाडौँ, नुवाकोट, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेमा आइतबारदेखि तालीम सञ्चालन शुरु भएको कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाले जानकारी गराए । उक्त तालिममा साई मल उद्योगका विज्ञ विश्वरुप बोस, माटो विज्ञ इन्द्रबहादुर ओली र कर्पोरेशन विज्ञ भगवान खतिवडाले रासायनिक मलको समुचित प्रयोगका बारेमा जानकारी गराउनेछन् । साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको बिक्री वितरण गर्दै आइरहेको छ ।