कभर स्टोरी

उपत्यकामा एक्सेलोमिटर केन्द्र निर्माण हुने

By Bala Adhikari

November 06, 2017

काठमाडौँ, कात्तिक २० । काठमाडौँ उपत्यकाका छ स्थानमा जापान सरकारको सहयोगमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ ।

वि.सं २०७२ वैशाख १२ को विनासकारी महाभूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोही अनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र खरिपाटीमा एक्सेलोमिटर केन्द्र निर्माण कार्य हुन लागेको हो ।

खानी तथा भूगर्भ विभाग अन्तर्गतको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले विसं २०७२ को महाभूकम्पले बढी क्षति गरेका ठाउँमा केन्द्र स्थापना गर्न लागेको जानकारी गराएका छन् । उपत्यकाको ठेचो, साँखु, माछापोखरी र झोरमा गतवर्ष नै केन्द्र स्थापना गरिसकेको बताउँदै यही महिनाभित्र बाँकी छ स्थानमा केन्द्र राख्ने भट्टराईले जानकारी गराए । यस्तै जिपिएस केन्द्र उपत्यका बाहिर चितवन, कपिलवस्तु र स्याङ्जामा निर्माण भइसकेको र रुकुम, रोल्पा र गुल्मीमा यसैवर्ष जिपिएस केन्द्र निर्माण हुन लागेको विभागले बताएको छ ।

एक्सेलोमिटर केन्द्रले ठूलाठूला भूकम्पको मापन गर्छ भने जिपिएस केन्द्रले साना र ठूला दुवै प्रकारका भूकम्प मापन गर्छ । नेपालमा विसं २०३६ मा फ्रान्सको डस संस्थाको सहयोगमा २१ स्थानमा भूकम्प मापन केन्द्र निर्माण सम्पन्न भएका थिए । यस्तै त्रिभुवन विश्वविद्यालयको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न चार स्थान र अमेरिकन युएसजिएस संस्थाको सहयोगमा खानी विभागमा भूकम्प मापन केन्द्र स्थापना गरिएको छ ।