कभर स्टोरी

ललितपुरको तीनै क्षेत्रमा चुनावी अभियान तीव्र

By Bala Adhikari

November 06, 2017

ललितपुर, कात्तिक २० । दोस्रोचरण अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा चुनावी चहलपहल ह्वातै बढेको छ ।

आफ्नो पक्षमा मत पार्नका लागि पार्टीका नेता अहिले जनताका घर– आँगनमा भोट माग्न पुगेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुन जनता उत्साहित छन् । उम्मेदवारहरु आफ्नो पक्षमा कसरी मत तान्न सकिन्छ भनेर हदैसम्म प्रयासरत छन् । नयाँ संरचना अनुसार हुन लागेको निर्वाचनले जनता उत्साहित देखिन्छन् । नेपाली काँग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्य २०७० सालको दोस्रो सविधान सभाको निर्वाचनमा क्षेत्र नं ३ बाट विजयी मात्र भएनन् अन्य दुई स्थानमा समेत कांग्रेसलाई जिताउन सफल भए । उनी अहिले पनि सो क्षेत्रबाट नै प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।

लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसको जित आवश्यक भएको अमात्यको ठहर छ । विसं २०७० मा पाएको मत कायम राख्न सके पनि आफू विजयी हुने अमात्य जिकिर गर्छन । वाम गठबन्धनले कुनै असर नपार्ने बताउँदै आफ्नो जित सुनिश्चित भएको बताए । सो क्षेत्रबाट वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रवक्ता पम्फा भुषाल प्रतिनिधि सभाको उम्मेदवार बनेकी छिन् । भुषाल सोही क्षेत्रबाट २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा विजयी भएकी थिइन् । आफ्नो जित सुनिश्चित गराउन भुषाल अहिले घरदैलो अभियानमा जुटेकी छिन् । यसपटक पनि आफुलाई निर्वाचित गराएर पठाउनेमा ढुक्क भएको भुषालले बताइन् । यसै क्षेत्रमा रही लामो समयदेखि जनताको मनमा बस्न सफल अमात्यलाई हराउन भुषालका लागि त्यति सहज देखिँदैन ।

नेपाली कांग्रेसले मात्र नभएर अन्य पार्टीलेसम्म रुचाएका व्यक्ति अमात्यलाई पार्टी हेरेर होइन व्यक्ति हेरेर भोट दिने र कामको मूल्यांकन हुने कुरामा ढुक्क छन् अमात्य । क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ काँग्रेसका चन्द्र महर्जन उम्मेदवारको रुपमा मैदानमा छन् । यस क्षेत्रबाट दोस्रो संविधानसभाको निर्वाचनमा महर्जन विजयी भएका थिए । यस पटक पनि सजिलै चुनाव जित्ने पक्का भएको बताउँछन् उनी । जनताले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनेमा विश्वस्त रहेको महर्जनले ठहर छ ।

सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट कृष्णलाल महर्जनको उम्मेदवारी रहेको छ । यस क्षेत्रबाट विसं २०६४ को संविधानसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार राजकाजी महर्जन विजयी भएका थिए । निर्वाचनमा वाम गठबन्धनको जित निश्चित भएको कृष्णलालले दाबी गर्दै गर्दा बाम गठबन्धन बिचको तालमेलमा भने तिक्तता देखिएको छ । क्षेत्र नं १ मा काँग्रेसबाट उदय शमशेर राणा उम्मेदवार बनेका छन् । सो क्षेत्रबाट वाम गठबन्धनका नवराज सिलवाल उम्मेदवार रहेका छन् ।