कभर स्टोरी

झापा क्षेत्र नं १ मा कार्की र शर्माबीच रोचक भिडन्त

By Bala Adhikari

November 10, 2017

भद्रपुर, कात्तिक २४ । झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र नेपाली काँग्रेसबीच रोमान्चक प्रतिस्पर्धा हुने देखिएको छ ।

वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का पूर्व मन्त्री सुरेन्द्रकुमार कार्की र काँग्रेसबाट युवा जुझारु नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै गर्दा दुबै उम्मेदवारले जनताका घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रले एक र नेकपा एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० रहेको निर्वाचन क्षेत्र नं १ मा एक लाख पाँच हजार ४७५ मतदाता रहेका छन् । तीमध्ये ५२ हजार ८४६ महिला छन् । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सात जना र प्रदेशसभा सदस्यका लागि ‘क’ र ‘ख’ मा आठ÷आठ गरी १६ जनाले उम्मेदवारी दिएका छन् ।

खुल्ला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्याका रुपमा रहेको यो क्षेत्रमा आम मतदाताले स्वास्थ्य, सडकबाटो, बिजुली, सिँचाइ, शिक्षा, रोजगारजस्ता समस्या समाधान गर्न उम्मेदवारहरुलाई आग्रह गरेका छन् । शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग पनि उनीहरुले अगाडि सार्दै आएका छन् ।

मतका आधारमा यस क्षेत्रमा अहिले वाम गठबन्धन निकै बलियो देखिए पनि वाम गठबन्धनका उम्मेदवार ओखलढुंगाका भएकाले उनलाई पर्यटक नेताका रुपमा लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार नेताद्वय शर्मा झापामै जन्मि हुर्की झापाका जनताका हरेक समस्यासँग लड्दै आएकाले निर्वाचनको परिणाम शर्मा अनुकुल हुनसक्ने सम्भावना बढ्दै गएको स्थानीय बुद्धिजिवीहरु बताउँछन् ।

कार्कीले मन्त्री हुँदा उल्लेखनीय काम गर्न नसकेको झापाका जनताको समस्यासँग जानकारक नभएको भन्दै स्थानीयहरु रुष्ट भएका छन् । यसले शर्मालाई चुनाव जित्नका लागि अझ सजिलो हुने देखिन्छ ।