कभर स्टोरी

झापाका एमाले नेता पदम काँग्रेसमा प्रवेश ओलीलाई लाग्यो ठूलो झड्का

By Bala Adhikari

November 15, 2017

काठमाडौं, कार्तिक २९। नेकपा एमालेका अध्यक्ष केपी ओलीका झापाका मुख्य सहयोगीनै काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा तीन पटकसम्म गाविस अध्यक्ष बनिसकेका र गाउँ विकास समिति राष्ट्रिय महासंघका सचिवालय सदस्य समेत बनिसकेका पदम गौतम काँग्रेसमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेसका शीर्ष शीर्ष नेताहरु, झापा गृह जिल्ला भएका काँग्रेसी नेताहरुका साथमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले काँग्रेसमा प्रवेश गराएका हुन् । साविकको तोगाछी गाउँ विकास समितिका उनीसँगै पदम बहादुर पौडेल, दिपक खड्का, मनोहर पौडेल, रुपा पौडेल, फडिन्द्र खडेका लगायतका एमाले नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । निर्वाचनको मुखैमा यी नेताहरुको काँग्रेस प्रवेशले काँग्रेसलाई झापामा केही सहज हुने भएको छ भने आफ्नो सहयोगी गुमाउँदा एमाले अध्यक्ष ओलीलाई भने ठूलो झड्का लागेको ओली निकट स्रोतले बतायो । बाम गठबन्धनमा माओवादीसँग कुम मिलाएपछि एमालेका असन्तुष्ट नेता तथा कार्यकर्ताहरु भने काँग्रेस तिर प्रवेश गर्ने क्रम बढ्न थालेको छ । उक्त पार्टी प्रवेश कार्यक्रममा काँग्रेस नेता कृष्णप्रसाद सिटौला, निवर्तमान सांसद् केशव कुमार बुढाथोकी, सुदीप शिवाकोटी, सविता प्रसार्इँ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।