समाचार

आमसञ्चार र निर्वाचन विशेष छलफल सम्पन्न

By Bala Adhikari

November 15, 2017

यही मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघले आज कार्तिक २९ गते ‘आमसञ्चार र निर्वाचन, विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सञ्चारग्रामस्थित महासंघको सभाहलमा भएको कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले लोकतन्त्र, संघीयता, गणतन्त्र स्थापना गर्न नेपाली सञ्चार जगतको उल्लेखनीय भूमिका रहेकोले त्यसको संरक्षण तथा सम्वद्र्धनमा समेत ध्यान दिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

पेशागतआचारसंहिता भित्र रहेर आफ्ना अध्ययन—अनुसन्धान र विश्लेषण गर्न र स्वच्छ र स्वतन्त्र ढंगबाट निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्न पत्रकारहरुलाई आग्रह गर्दै आफ्ना समाचारहरूका माध्यमबाट देश निर्वाचनमय बनाइदिन प्रत्येक सञ्चार गृहलाई आग्रह गर्दै यादवले पत्रकार महासंघलाई महासंघका जिल्ला शाखाका माध्यमबाट निवार्चन शिक्षामा सहयोग गर्न पनि आग्रह गरे ।

कार्यक्रममानेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रका विषय र त्यसमा प्रकाशन–प्रसारण भएका विषयमाथि छलफल गरिने योजना अनुरुप आजको कार्यक्रम राखिएको र अहिलेको मुख्य विषय निर्वाचन सम्पन्न गर्ने रहेको हुँदा त्यसमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने बताउदै त्यसमा निर्वाचन आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगसंग सहकार्य गरेर अघि बढ्न महासंघ दृढ रहेको स्पष्ट पारे ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्माले आफूले पाएको जिम्मेवारी अनुसार निर्वाचनका क्रममा मानवअधिकारको उल्लंघन भए–नभएको अनुगमन गर्ने जानकारी दिँदै निर्वाचनका क्रममा बालबालिका प्रयोग हुनुका साथै विद्यालयहरुमा आमसभा भएको हुँदा त्यसप्रति निर्वाचन आयोगले राजनीतिक दलहरुलाई स्पष्टीकरण सोधेर मात्रै छोडेकोमा दुःख व्यक्त गरेका छन् । पूर्व निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनको अनुभव सुनाउँदै प्रभावकारी जनमतको सृजना गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताए । त्यसैगरी सूचना विभागका महानिर्देशक वीरबहादुर राईले निर्वाचनमा सबै पत्रकारहरुलाई विशेष पास उपलब्ध गराउन सम्भव नरहेको हुँदा सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा निर्वाचन अधिकृतसंग सहकार्य गरी सूचना सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे । प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत झविन्द्र भुसालले स्थानीय निर्वाचनमा जस्तै आगामी निवार्चनका लागि समेत काउन्सिलले सञ्चारगृहका विषयवस्तुहरुमा अनुगमन सुरु गरिएको र अनुगमनका क्रममा सञ्चारगृहका विषयमा स्वच्छ र निश्पक्ष सामग्रीहरु प्रसारण, प्रकाशन नभएको जानकारी गराए । कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले महासंघले सञ्चारमाध्यमका विषयमा नियमित छलफल गर्ने योजना अनुसार आजको कार्यक्रम पहिलो रहेको जानकारी गराउँदै सञ्चार जगत आफैमा निर्वाचनको सुपरिवेक्षक तथा सूचनाको संवाहक रहेकाले सूचना जनतासम्म पुर्याउन उपयुक्त वातावरण निर्माण गर्न सबैलाई आग्रह गरेका छन् ।