धनगढी, कात्तिक २९ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पक्षमा चुनावी माहोल बनाउन बुधबार गृह क्षेत्र पुगेका छन् । प्रदेश नं ७ को कैलालीको निर्वाचन क्षेत्र २ लम्कीमा भएको पहिलो चुनावी सभालाई सम्बोधन गरेर धनगढी पुगेका देउवाले आजै आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको पनि शुभारम्भ गरेका थिए ।
प्रधानमन्त्री देउवाको भ्रमणसँगै प्रदेश नं ७ मा चुनावी रौनकता ह्वात्तै बढेको छ । देउवा धनगढी पुगेसँगै पार्टीभित्रको आन्तरिक संगठनमा देखिएको समस्या दर्शाउने र समाधानको पहल गरिदिन आग्रह गर्ने नेता कार्यकर्ता र उम्मेदवारको भेटका लागि तँछाड मछाड भएको थियो । क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटनपछि प्रदेश नं ७ का कैलाली र कञ्चनपुर जिल्लाका कांग्रेसका उम्मेदवार तथा कार्यकर्तालाई भेट्न प्रधानमन्त्रीलाई भ्याइनभ्याई भएको स्रोत बताउँछ ।
आजै कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रका उम्मेदवार र कार्यकर्तालाई छुट्टाछुट्टै भेट गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन लोकतन्त्रको भविष्यसँग जोडिएकाले सबैले आन्तरिक विवादलाई थाती राखेर निर्वाचनमा सबै होमिनुपर्ने बताएका थिए । भेटघाटका क्रममा देउवाले पार्टीभित्र कुनै विवाद नरहेकाप्रति आश्वस्त पार्दै चुनावमा एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका थिए ।
टिकट नपाएर निस्क्रिय बसेका वा असन्तुष्ट रहेकालाई देउवाले आफैँ टेलिफोन गरेर समग्र रुख हेरी भोट हाल्न आग्रह गर्दै सम्झाएका थिए । पार्टी सभापतिलाई भेटेर फर्किनुभएका कञ्चनपुरका काँग्रेस कार्यकर्ता जोगराज ऐरले भने कैलाली जिल्लाका केही निर्वाचन क्षेत्रमा जनशक्ति पार्टी र राजपाका तर्फबाट उठेका उम्मेदवारको सवालमा देउवाले यी पार्टीका शीर्ष नेताहरूलाई भेटघाटकै क्रममा फोन गरेर सहयोग मागेका थिए
प्रधानमन्त्री देउवाले कार्यकर्तासँग विशेष अनुरोध गर्दै भने कहीँ कतै असन्तुष्टि बाँकी छ भने मलाई भन्नुस् म समाधान गर्न तयार छु । स्थानीय निर्वाचनमा विभिन्न कारण असन्तुष्ट बनेका कार्यकर्तालाई पनि प्रधानमन्त्री देउवाले विभिन्न आश्वासन दिएका थिए । प्रधानमन्त्री देउवाले सबै समस्या समाधान गर्ने बताउँदै सबैले रुख लाई सम्झिएर अघि बढ्न अनुरोध गरे । कञ्चनपुर क्षेत्र नं १ का काँग्रेस कार्यकर्ता धर्मवीर साउदले भने स्थानीय निर्वाचनका समयमा पार्टीभित्र देखिएका विवादले हार बहोर्नुपरे पनि यस पटक भने त्यसो हुँदैन ।
काँग्रेसले स्थानीय निकाय निर्वाचनका बेला टिकट वितरणलाई लिएर भएको असन्तुष्टिका कारण विभिन्न स्थानीय तहमा हार बेहोर्नुपरेको थियो । त्यसैलाई ध्यानमा राखेर यस पटक भने टिकट वितरणमा सजगता अपनाइएका कारण निर्वाचन जित्न सहज भएको दाबी काँग्रेसका स्थानीय नेताले गरेका छन् ।
प्रधानमन्त्री पत्नी काँग्रेस नेत्री डा आरजु देउवा उम्मेदवार रहेको कैलाली क्षेत्र नं ५ का काँग्रेस नेता कार्यकर्तालाई पनि उनले छुट्टै भेटेर निर्देशन दिएका छन् । यस क्षेत्रमा दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री देउवाले ठूलो मत अन्तरले निर्वाचन जितेका थिए । बिहीबार प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला डडेलुधरा जाने कार्यक्रम रहेको छ ।