ललितपुर, मंसिर १ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै रु कांग्रेसमा प्रवेश गर्न विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहको लर्को नै लाग्न थालेको छ ।
विभिन्न दलका नेता तथा कार्यकर्ताहरु दिनुहुँ सयौंको संख्यामा कांग्रेसमा प्रवेश गरिरहेका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ललितपुर क्षेत्र नं. १ का अध्यक्ष प्रकाशबहादुर खत्री पनि नेपाली काँग्रेसमा प्रवेश गरका छन् । काँग्रेसद्वारा बिहीबार बेलुका आयोजित नव आगन्तुकलाई पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष खत्री कांग्रेसमा प्रवेश गरेको बताइएको छ । खत्रीसमेत ४० जना राप्रपाका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको उक्त क्षेत्रमा काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अर्थराज्यमन्त्री उदयशम्शेर राणाले जानकारी दिएका छन् ।
त्यस्तै गोदवारी नगर कार्यसमितिका नेकपा (एमाले) निकट युथ फोर्सका नेता सुरेश थापामगरसहित २० जना काँग्रेसमा प्रवेश गरेको उनले बताए । कार्यक्रममा पार्टी प्रवेश गरेका राप्रपा नेता खत्रीले लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि आफू काँग्रेसमा प्रवेश गरेको बताएका छन् । खत्रीले प्रजातान्त्रिक विश्वास नारा बोकेको पार्टी नेपाली कांग्रेसमा आउन पाउँदा आफुलाई खुसी लागेको बताए । उनले एमालेले विभिन्न आश्वासन प्रलोभन लोभ देखाएर भड्काउने प्रयास गरेको भएपनि आफुहरु विचलित नभएको प्रतिक्रिया दिए ।
प्रदेश सभा ख का उम्मेदवार मीनकृष्ण महर्जनले जिल्लाभरी नै कांग्रेसको लहर आएको भन्दै कांग्रेसको जीत रोक्ने तागत कसैमा पनि नभएकाले आफ्नो जित सुनिश्चित भएको दावी गरेका ।
उक्त अवसरमा अर्थराज्यमन्त्री शम्शेरले संविधानको रक्षार्थ र कार्यान्वयनका लागि मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको जित हुन आवश्यक रहेको औल्याउँदै संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकास गर्न काँग्रेसको जित आवश्यक रहेको विचार व्यक्त गरे । राणाले जनताले शान्ति समृद्धि र विकास चाहेकाले कांग्रेसको जित सुनिश्चित भएको दावी गरेका छन् ।