कभर स्टोरी

विकास विरोधीलाई मतदानबाट पराजित गर्न नेता लेखकको अनुरोध

By Bala Adhikari

November 29, 2017

दोधरा, मंसिर १३ । विकास विरोधी शक्तीलाई परास्त गर्न नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार रमेश लेखकले मतदातालाई अनुरोध गरेका छन् ।

महाकाली नदी पारीको महाकाली नगरपालिकाको दोधरा, चाँदनीमा बुधबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लेखकले यस क्षेत्रमा भएको विकास देख्न नसक्ने विकास विरोधी तत्वहरु सल्वलाउन थालेकोले त्यस्ता विकास विरोधीहरुलाई मतदानबाट पराजित गर्न मतदातालाई आग्रह गरेका हुन् । आफ्नो पहलमा महाकाली नदीमा बन्न लागेको चार लेनको पक्की पुलको निर्माण कार्य रोकेर सधै जनतालाई परनिर्भर बनाउने खेलमा एमाले लागेको दावी गर्दै पुलको डिजाइन परिवर्तन गर्छौ भनेर एमालेले घोषणापत्रमा लेख्नु पुल बन्न नदिने षडयन्त्र भएको दाबी लेखकको छ ।

एमाले कञ्चनपुरले सोमबार महेन्द्रनगरमा सार्वजनिक गरेको स्थानिय घोषणा पत्रमा महाकाली नदीमा बन्न लागेको चार लेनको पक्की पुलको डिजाइन परिवर्तन गर्ने कुरा सार्वजनिक गरेपछि नेता लेखकसँगै दोधरा, चाँदनीका स्थानियवासी समेत आक्रोसित भएका छन् । नेता लेखकले एमालेले पुलको डिजाइन परिवर्तन गर्ने कुरा गरेर निर्माण भइरहेको पुलमा भाजो हाल्न लागेको आरोप लगाए । उनले प्रश्न गरे, ‘ डिजाइन स्विकृत भइ ठेक्का समेत भएर काम अगाडि बढी सकेको पुलको डिजाइन परिवर्तन गर्ने भनेको के हो ? यो सिधै पुल बन्न नदिने षडयन्त्र हो । ’ डिजाइन परिवर्तनका कुरा गर्न थाले ठेकेदार अदालत गएर मुद्दा दायर गरे पुलको काम रोकिने अवस्था आउने भएकाले यस किसिमका विकास विरोधी गतिविधि रोकिनु पर्ने उनले बताए ।

सरकारले पुल निर्माणका लागि ३ अर्ब रुपैया विनियोजन गरिसकेको बताउँदै यति ठूलो बजेट विनियोजन गर्न आफूले ठूलो मेहनत गरेको स्मरण गरे । भारत र नेपालबिच भएको एकिकृत महाकाली सन्धीमा सारदा व्यारेजबाट दोधरा चाँदनीमा सिचाईका लागि पानी उपलब्ध गराउने कुरा प्रष्टसँग उल्लेख भएको दाबी गर्दै त्यसको काम अगाडि बढीसकेकोले यसका बिषयमा अनावश्यक टिप्पणी गर्न आवश्यक नरहेको बताए । एमालेलाई लक्षित गर्दै उनले भने, ‘जनतालाई झुटो कुरा गरेर होइन, काम गरेर विश्वास जित्न सकिन्छ । विकास विरोधी काम बन्द गर्नुहोस ।’ दोधरा, चाँदनी सहित कञ्चनपुर जिल्लालाई नै नेपाल, भारत र चीनको त्रिदेशिय नाकाको रुपमा विकास गर्न आफू लागिपरेको दावी गर्दै नेता लेखकले महाकालीमा पक्की पुल बनेपछि यो क्षेत्रमा रोजगारीका संभावनाको ढोका खुल्ने बताए । उनले भने, ‘अवको ५ वर्षको अवधिमा मेरो ध्यान यस क्षेत्रको वेरोजगारी समस्या समाधानमा रहने छ । ’

लेखकले पुल बनेपछि यहाँको जमिनको भाउ बढेर यही स्वरोजगार बन्न सक्ने अवस्था पनि सिर्जना हुने बताए । देशमा प्रजातन्त्र ल्याउने, शान्ति स्थापना गर्ने र संविधान बनाउने कार्यको नेतृत्व नेपाली कांग्रेसले गरेको स्मरण गर्दै नेपाली कांग्रेसकै नेतृत्वमा देश विकासले गति लिने भएकाले नेपाली कांग्रेसलाई विजय गराउन उनले आग्रह गरे । दोधरा, चाँदनीसँग कांग्रेस र कांग्रेससँग दोधरा, चाँदनी नजिक रहेको स्मरण गर्दै आफू सधै स्थानियवासीको साथमा रहने प्रतिवद्घता व्यक्त गरे ।