कभर स्टोरी

मतदाता आफ्नो पक्षमा पार्न उम्मेदवारका अनेक प्रतिवद्धता

By Bala Adhikari

November 30, 2017

काठमाडौँ, मंसिर १४ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि विभिन्न दलका विभिन्न नेताहरुको जनताको मत आफ्नो पोल्टामा पार्नको लागि अनेकौ खालका प्रतिवद्धता अघि सारेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता उत्साहकासाथ मतदातालाई आकर्षित गर्न विभिन्न खालका प्रतिबद्धता गर्न थालेका छन् । करिब ५१ हजार मतदाता भएको सो क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न हरियाली पार्क, खेल मैदान निर्माण गर्नेलगायत प्रतिबद्धता जनाउँदै आएका छन् ।

निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका नवीन्द्रराज जोशी प्रतिनिधिसभातर्फ तथा प्रदेश ‘क’ मा राज्यलक्ष्मी श्रेष्ठ र ‘ख’ मा देवनारायण डंगोल उम्मेदवार रहेका छन् । जोशीले काँग्रेसको नेतृत्वमा संविधान जारी भएकाले अब त्यसको कार्यान्वयनका लागि पनि काँग्रेसकै नेतृत्व जरुरत पर्ने बताए । वाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठ प्रतिनिधिसभातर्फ तथा प्रदेश ‘क’ मा राजेश शाक्य र प्रदेश ‘ख’ मा अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्यसम्म ‘सम्पदा पैदल मार्ग’ निर्माण गरी पर्यटकलाई आकर्षित गरिने दुबै गठबन्धनका उम्मेदवारले जनतासमक्ष प्रतिबद्धता जनाएका छन् । उम्मेदवार श्रेष्ठले एमालेको नेतृत्वमा बन्ने वाम सरकारले जनपक्षीय ऐन कार्यान्वयन गर्ने बताउँदै भने– काष्ठमण्डप दुई वर्षभित्रमा पुनःनिर्माण गरिन्छ, भूकम्पबाट क्षति भएका कतिपय निजी घर धरापमा छन, तिनको व्यवस्थापन गर्ने योजना छ ।

नेवार समुदायको बढी घनत्व रहेको यस क्षेत्रमा उक्त समुदायको मत लिनसक्ने उम्मेदवारले विजय हासिल गर्नसक्ने भएकाले जातीय मत तान्न उनीहरूबीच प्रतिस्पर्धा चलेको छ । काठमाडौँ महानगरपालिकाका क्रमशः १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका क्रमशः ४ र ५ वडा समेत उक्त क्षेत्रमा पर्दछ ।

भूकम्पबाट धरापमा परेका बस्तीलाई व्यवस्थित गरी स्थानीयवासीलाई सीपमूलक तथा आय आर्जनका परियोजना उपलब्ध गराउने दृष्टिकोण भएका नेतालाई चुनावमा जिताउनुपर्ने काठमाडौँ निर्वाचन क्षेत्र नं– ८ का मतदाता सोनाम लामाले बताए ।