कभर स्टोरी

कांग्रेसलाई बहुमत आवश्यक : मन्त्री बस्नेत

By Bala Adhikari

December 01, 2017

काठमाडौं, मंसिर १५ । कम्युनिष्टहरुले मुलुकमा सर्वसत्तावाद लाद्ने योजना अनुरुप गठबन्धन गरेकोले आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले जिताएर लोकतन्त्रको रक्षा गर्दै समृद्धिको अभियानलाई सफल पार्न गरिवी निवारण तथा सहकारी मन्त्री र काठमाडौ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा लागि नेपाली कांग्रेसकी उम्मेदवार अम्बिका बस्नेतले मतदातासमक्ष आग्रह गरेकी छिन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा निर्वाचन परिचालन समितिका सदस्य हरिबोल भण्डारीको पहलमा शुक्रबार राजधानीमा आयोजित बृहत महिला भेलामा बोल्दै मन्त्री बस्नेतले मुलुकको हरेक महत्वपूर्ण परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसका सबै उम्मेदवारहरुलाई आसन्न निर्वाचनमा अत्याधिक मत सहित जिताउनको लागि अनुरोध गरिन् । मन्त्री बस्नेतले लोकतन्त्रवादीहरुको जीतका लागि नेपाली कांग्रेसलाई सबै तह र तप्काको सहयोग जरुरी भएको बताइन् । उनले झुटको राजनीति गर्न खप्पिस वामपन्थी दलहरुको औचित्य समाप्त भइसकेको बताएन् ।

भेलालाई सम्बोधन गर्दै प्रादेशिक उम्मेदवारद्धय छिरिङ दोर्जे लामा, विमल ठकुरी, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानिँया लगायतले नेपाली कांग्रेस जितेमा मात्र लोकतन्त्रको भविष्य सुरक्षित हुने धारणा राखेका थिए । भेलामा नेविसंघ महामन्त्री सरोज थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, चर्चित कलाकार सन्दिप क्षेत्री लगायत नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा निर्वाचन परिचालन समितिका सदस्य हरिबोल भण्डारीले भेलालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कांग्रेसको जीतका लागि एक भएर लाग्न सबैलाई आह्वान गरे । समाजसेवीका रुपमा समेत परिचित भण्डारी नेपाली कांग्रेसको जीतका लागि आफ्नो निर्वाचन क्षेत्र सहित देशभरका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुँदै आएका छन् ।