कभर स्टोरी

निर्वाचन विरोधी गतिविधि रोक्न प्रहरीको ‘सर्च एण्ड स्वीप अपरेशन’ शुरु

By Bala Adhikari

December 01, 2017

चितवन, मंसिर १५ । निर्वाचन सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालय चितवनले हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एण्ड स्वीप अपरेशन’ थालेको छ ।

निर्वाचन मिति नजिकिएसँगै सुरक्षामा चुनौती थपिने भएकाले निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार उक्त अपरेशन शुरु गरेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । हरेक निर्वाचन क्षेत्रमा आजैबाट प्रहरीको दुईवटा टोली परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक ढकालले कुनै शंकास्पद गतिविधि देखिने बित्तिकै प्रहरीले अनुसन्धान थाल्ने बताए । शंकास्पद व्यक्ति र ठाउँ खोजी अभियान समेत थालिएको छ ।

विभिन्न शंकास्पद ठाउँको पहिचान भएकाले उक्त क्षेत्रमा प्रहरी परिचालन गरेर आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधि रोक्न खोजी अभियान चलाइएको ढकालले बताए । मुख्यतः अहिले देशभरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम पड्काउने जस्ता अवाञ्छित क्रियाकलाप गरिरहेकाले अपरेशन टोलीले यस्ता गतिविधिलाई बढी निगरानीमा राखेको छ । अन्य जिल्लामा विभिन्न मानवीय घटना भए पनि चितवनमा अहिलेसम्म यस्ता घटना भएका छैनन् । यसलाई कायम राख्नका लागि प्रहरीले विभिन्न रणनीति अपनाएर सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरी उपरीक्षक दीपक थापाले गलत क्रियाकलापको शंका लागेमा आवश्यक सूचना उपलब्ध गराउन सर्वसाधारणसँग अनुरोध गरेका छन् । गुण्डागर्दी नियन्त्रण, मदिरा नियन्त्रण, लागुऔषध, आपराधिक क्रियाकलाप नियन्त्रण, निर्वाचन विरोधी क्रियाकलाप र हतियार नियन्त्रणसहित विभिन्न पाँचवटा रणनीतिका साथ प्रहरीले जिल्लामा सुरक्षा योजना लागू गरेकोछ । जिल्ला सुरक्षा समितिले चितवनका १६१ मध्ये ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक/फरक सुरक्षा योजना निर्माण गरेर लागू गरेको छ । जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन गरिएको र आवश्यकता अनुसार नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन हुने बताइएको छ ।