अन्तर्वार्ता

विकाशका लागी उदय शमशेर चाहिन्छ : राणा

By Bala Adhikari

December 03, 2017

ललितपुर, मंसिर १७ । नेपाली कांग्रेसका युवा नेता उदय शमशेर राणा संघिय व्यवस्थापिका संसदका लागि ललितपुर क्षेत्र नंः १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । नेपाल तरुण दलका पूर्व अध्यक्ष राणा हाल सरकारका अर्थराज्य मन्त्री समेत हुन् । आसन्न चुनावका विषयमा केन्द्रित रहेर उदयशम्शेर राणासंग गरिएको संक्षिप्त कुराकानी : 

चुनावी अभियान कस्तो हुँदैछ ?

म आफै उम्मेदवार भएकाले स्वभाविक रुपमा व्यस्तता बढेको छ । हामीसंग केही दिन मात्रै बाँकी छ । दिनहुँ पाँचरछ वटा कार्यक्रममा पुग्नुपर्छ भने साँझ विहान घरदैलो कार्यक्रममा व्यस्त छु ।

आम मतदाताहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

मैले मतदाताहरूको प्रतिक्रिया सकरात्मक नै पाएको छु । सबैले तपाईप्रति हाम्रो विश्वास छ भनेका छन् । मैले चार वर्ष अगाडि पनि यसै क्षेत्रबाट जितेर धेरै कामहरू गरेको छु । उहाँहरूले अझै विकासका कामहरूलाई तिव्र रूपमा अगाडि वढाउन सुझाव समेत दिइरहनु भएको छ । समग्रमा चुनावी अभियान सकरात्मक नै छ ।

तपाईका एजेण्डा के हुन् ?

म राजनीतिमा लागेको मेरो व्यक्तिगत स्वार्थ र अरु कुनै स्वार्थले होइन । राजनीतिमार्फत देश र जनताको सेवा गर्नु नै मेरो ध्येय हो र म त्यसैका लागि सधैं नै लागिपरेको छु । म सत्तामा हुँदा होस् या बाहिर, जहिले पनि विकासका लागि सक्रिय भएर लागेको छु । त्यसकारण विगतमा झैं यसपटक पनि विकास र समृद्धिको मूल नारा लिएर म मतदाताहरु माझ गएको छु । ललितपुरको १ नं क्षेत्रको विकास नै मेरा लागि मुख्य कुरा हो मैले यस क्षेत्रमा ४ वर्षको अवधिमा ७ अर्व भन्दा बढिको विकास निर्माणको कामका लागि बजेट उपलब्ध गराएको छु । अव निर्वाचित भएपछि ३ वर्षभित्र यस क्षेत्रका लागि २५ अर्व भन्दा बढि बजेट ल्याउनेछु ।

तपाई यसअघि सांसद निर्वाचित भएपछि गरेको काम र आफ्नो कार्यकाललाई कसरी मूल्याकंन गर्नुभयो ?

मेरा क्षेत्रका जनताका अपेक्षाहरु धेरै छन् । तर राज्यसंग सीमित स्रोत छ । त्यसकारण एकै पटक सबै जनताका मागहरुको सम्बोधन गर्न सकिन्छ भन्ने होइन तर मैले चार बर्षमा जे जति काम गरे, गर्न सके त्यसप्रति जनता निराश पक्कै छैनन् । चार बर्षमा मैले आफ्नो व्यक्तिगत पहलमा होस् या अन्य विभिन्न सरकारी गैरसरकारी संघ संस्थाहरुमार्फत, धेरै कामहरु भएका छन् । कतिपय काम बहुबर्षीय हुन्छन्, आजको भोली सम्पन्न हुँदैनन् । त्यसकारण मैले चार बर्षमा जति काम गरे, यसबाट म सन्तुष्ट छु । अझै धेरै गर्नुछ, त्यसैले पनि म यति बेला जनताका बीच विकासका कामहरुलाई अझै तिब्रता दिन र थप विकास गर्न मलाई मतदान गर्नुहोस् भनेर गएको भनिरहेको छु ।

विगतका कामहरूप्रति मतदाताहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

म २०७० सालमा एउटा उम्मेदवारका रुपमा मतदाताहरुका बीचमा जाँदै गर्दा धेरैले मलाई आशिष या निर्देशन दिएका थिए कि तिमी संविधान समयमै बनाउनु भनेर । म सदस्य रहेको संविधान सभाले समयमै संविधान बनायौं । जनताको प्रमुख जनादेश हामीले पुरा गर्यैँ । त्यतिबेला स्थानीय तह जनप्रतिनिधिविहीन भएकाले एउटा सांसदको काँधमा धेरै जिम्मेवारी थियो । त्यसमा पनि मैले आफूलाई सधैं सक्रिय बनाए । यो पटक पनि जनताका बीचमा जाँदा उहाँहरुले मलाई धन्यवाद दिनुभएको छ र भन्नुभएको छ कि तपाईलाई हामी फेरी जिताउँछौं । विकासका लागि उदय शम्शेर चाहिन्छ भनेर जनता भनिरहेका छन् ।

तपाईले गरेका महत्वपूर्ण कामहरु के कस्ता छन् त ?

पहिलो काम त संविधान लेखन नै हो । पहिलो संविधान सभा संविधान जारी गर्न नसकेर भंग भएको थियो तर हामी संविधान जारी गर्न सफल भयौं । यो देशका लागि ऐतिहासिक सफलता थियो । म पनि त्यो संविधानको हस्ताक्षरकर्ताको हैसियतले त्यसमा गर्व महसुस गर्छु । जहाँसम्म मेरो निर्वाचन क्षेत्रमा के के विकास भए भन्ने विषय छ, पहिलो कुरा त करिव ६ दशक अघि सुरु भएको कान्तिलोक पथ अलपत्र अवस्थामा थियो । काठमाडौंलाई तराईसंग जोड्ने छोटो दूरीको यो मार्ग निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । म निर्वाचित भएपछि कान्तिलोकपथ निर्माणले गति लिएको छ । करिव चार अर्बको यो सडक निर्माण सम्पन्न भयो भने दक्षिण ललितपुरको विकासमा यो कोशेढुंगाासावित हुनेछ । अब कान्तिलोक छिट्टै निर्माण सम्पन्न हुन्छ । म अर्थराज्यमन्त्री पनि भएकाले मैले स्पष्ट भनेको छु कि बजेटको अभाव वा कुनै पनि बहानामा अब यो लोकपथ निर्माण रोकिनुहुदैन । यस्तै एडिबीको सहयोगमा ललितघुम्ती निर्माण कार्य भइरहेको छ । यसमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस्तै टुंगुन करिडोर भट्टेडाँडा देखि गोटिखेलसम्म जोड्ने बाटो, चन्दनपुर, ठूलादुर्लुङ, गिम्दी, आश्राङ हुदै बगुवा जाने बाटो । अन्य साना विकासका धेरै कामहरु भएका छन् । मैले माथि भनेका विकासका कामहरु ललितपुरको विकासका लागि ठूलो महत्व राख्ने आयोजना हुन् । विभिन्न गैरसरकारी संस्थाहरुमार्फत पनि काम भएका छन् ।

बामगठबन्धनले चुनावी परिणामलाई असर पार्दैन ?

अन्त के छ मलाई थाहा भएन । मेरो क्षेत्रमा बामगठबन्धनले मेरो विजयलाई रोक्न सक्दैन । जनताले कसैको अनुहार हेरेर होइन, उसले गरेको काम र योगदानलाई हेरेर मतदान गर्ने भएकाले मतदाताहरुलाई मतदान गर्न आतुर छन् । उदयको विकल्प अरु हुनै सक्दैन भन्नेमा जनता विश्वस्त छन् । २०४८ सालदेखि २०७० सम्म निर्वाचित सांसदहरु नेता त बने तर हाम्रा लागि केही पनि गरेनन् भनेर त्यहाँका स्थानीयहरु भनिरहेका छन् ।

बामगठबन्धनलाई तपाईले कसरी लिनुभएको छ ?

संविधान कार्यान्वयनमा हामी जाँदै गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यलाई लिएर चासो र चिन्ता उत्पन्न हुन थालेको छ । चुनावको मुखैमा लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउने र संविधानको मर्मविपरीत देशलाई अधिनायकवाद तर्फ लैजाने सोचका साथ यति बेला बामगठबन्धन भएको छ । उनीहरुले बामगठबन्धनको जे जसरी बचाउ गरेपनि यसले देशलाई फेरी पनि एकदलीय अधिनायकबादतर्फ धकेल्ने त होइन भन्ने हामीलाई चिन्ता उत्पन्न गराएको छ । अब फेरी पनि हाम्रो पुस्ताले लोकतन्त्रका लागि कतै संघर्ष त गर्नुपर्ने होइन भन्ने संशय छाएको छ । मैले त यो निर्वाचनलाई लोकतन्त्रपक्षधर र अधिनायकवाद पक्षधरबीचको जनमतसंग्रहका रुपमा लिएको छु ।

कांग्रेसलाई नै मतदान किन ?

यो देशमा भएका सबै राजनीतिक आन्दोलनको नेतृत्वकर्ता हो कांग्रेस । कांग्रेसकै नेतृत्वमा तत्कालीन विद्रोही माओवादी शान्तिप्रक्रियामा आएको हो । पहिलो संविधान सभा निर्वाचनपछि यो देशमा चार बर्षको अन्तरमा चार जना कम्यूनिष्ट प्रधानमन्त्री बने, आलोपालो राज्य चलाए तर देशलाई संविधान दिन सकेनन् । तर दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेपछि तत्कालीन पार्टी सभापति एवम प्रधानमन्त्री स्वः सुशील कोइरालाको नेतृत्वमा देशले संविधान पायो । स्थानीय तहको निर्वाचन कांग्रेसकै नेतृत्वमा भयो भने अब प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा हुँदैछ । यस्ता ऐतिहासिक कामको नेतृत्व गरेको जनताले पत्याएको पार्टी भएकाले म सबै मतदाताहरुलाई लोकतन्त्र रक्षाका लागि कांग्रेसको विजय अनिवार्य छ । त्यसका लागि कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु ।

अन्त्यमा तपाईको केही भन्नु छ की ?

तपाईको सञ्चारमाध्याम मार्फत केही कुरा राख्ने अवसर दिनु भएकोमा धन्यवाद । अहिलेको निर्वाचन सामान्य निर्वाचन होइन । यो लोकतन्त्र रहने की नरहने भन्ने अर्थ राख्ने निर्वाचन हो । अहिलेको संविधान कार्यान्वयन गराउने र देशमा अधिनायकवाद लागू गर्ने कम्युनिष्टहरू बीचको लडाई हो । यो निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिएर लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै संविधान कार्यान्वयन गर्न र देशलाई आर्थिक समृद्धिको दिशातिर लैजान आवश्यक छ । त्यसका लागि यही मंसिर २१ गते हुने दुवै निर्वाचनमा रूख चिन्हमा मतदान गरेर नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।

साभार आमसरोकार डट कम ।