नवलपरासी, मङ्सिर १८ । नवलपुरको देवचुलीमा कांग्रेस उम्मेदवार एवं पार्टी महामन्त्री डा शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको छ ।
नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा आइतबार राति प्रगतिनगरमा आगजनी भएको हो । घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी गराएको छ ।
आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । नवलपुर १ का कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइरालासंग कम्युनिष्ट गठबन्धनबाट माओवादीका भविश्वर पराजुली प्रतिस्पर्धामा छन् । डा.शशांकसँगको प्रतिस्पर्धा र चुनावको मुखमा गरिएका यस्ता क्रियाकलापले शंका उपशंका मात्र होइन त्रासको वातावरण समेत सृजना गर्दछ ।