काठमाडौँं, मंसिर २४ । यही मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको १६ जिल्लाको मतगणना सकिएको छ ।
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार प्रतिनिधिसभाका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचितमध्ये ७३ पुरुष र एक महिला रहेका छन् । यसैगरी प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको मतगणना सकिएको छ, जसमा १५३ पुरुष र आठ महिला निर्वाचित भएका हुन् ।
आयोगका अनुसार पहिलो चरणमा निर्वाचन भएका जिल्लामध्ये रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा र बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ भने आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ । सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, बैतडी र दार्चुला समानुपातिकतर्फको मतगणना जारी रहेका जिल्लामा हुन् ।
मंसिर २१ गते दुई वटा मतदान केन्द्रमा मतदान स्थगन भई शनिबार पुनःमतदान भएपछि अर्घाखाँची जिल्लाको मतगणना गए रातिदेखि शुरु भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी गराएका छन् । दलबीचको विवादका कारण मतणना शुरु हुन नसकेको स्याङ्जा जिल्लाको मतगणना आज बिहान १०ः३० बजेदेखि शुरु भएको बताइएको छ ।