कभर स्टोरी

कञ्चनपुरका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी

By Bala Adhikari

December 12, 2017

कञ्चनपुर, मंसिर २६ । कञ्चनपुरको प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्र र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)की बिना मगर ३८ हजार ४६४ मत प्राप्त गरी विजयी बनिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह बिष्टले १९ हजार २१९ मत ल्याएर हार बेहोरेका छन् । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा एमालेका तारालामा तामाङले २० हजार १५ मत ल्याई विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) सदस्यमा एमालेका कुलवीर चौधरीले १६ हजार १५८ मत प्राप्त गरी जित हासिल गरे भने काँग्रेसका रामलाल रानाले १० हजार २२३ मत प्राप्त गरेका थिए । निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा एमालेका नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नारायणप्रकाश साउदले २४ हजार ८९३ मत प्राप्त गरि पराजित बनेका छन् ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा माओवादी केन्द्रका महेशदत्त जोशीले १७ हजार ६७२ मत ल्याउन सफल भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्करराज ओझाले १२ हजार ४६२ मत प्राप्त गरेका थिए । प्रदेश सभा(ख) मा एमालेका लालबहादुर खड्काले १६ हजार ३८५ मत ल्याई जिते भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बहादुरसिंह थापाले ११ हजार ८५१ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा एमालेका डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी बने भने नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याए । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्य (क)मा एमालेका प्रकाश रावलले १२ हजार ८१७ मत प्राप्त गरी जित हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी यज्ञराज जोशीले १२ हजार ७५४ मत ल्याउँदै झिनो मतले पछि परे ।

प्रदेश सभा (ख)मा माओवादी केन्द्रका मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५३९ मत प्राप्त गरेका छन् ।