कभर स्टोरी

विद्युत उत्पादनमा सरकारी निकायलाई पछि पार्दै निजी क्षेत्र

By Bala Adhikari

December 12, 2017

काठमाडौ मंसीर २६ । विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई नेपालको निजी क्षेत्रले पछि पारेको छ । सरकारले विद्युत उत्पादन सुरु गरेको १ सय ६ वर्षमा ४७३.३९४ मेगावाट उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेकोमा निजी क्षेत्रले उत्पादन सुरु गरेको दुई दशकमै ४७७.३०२ मेगावाट पुर्याई सरकारी निकायलाई चुनौति दिँदै अघि बढेको छ ।

१३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजनाको उत्पादनसँगै केन्द्रीय ग्रिडमा निजी क्षेत्रको ४७३.३०२ मेगावाट र विद्युत प्राधिकरणका ३९ आयोजनाबाट ४७३.३९४ मेगावाट रहेको थियो । तर, निजी क्षेत्रले हालै ४ मेगावाटको सर्तीखोला जलविद्युत आयोजनाको व्यापारिक उत्पादन सुरु गरेसँगै विद्युत प्राधिकरणलाई पछि पारेको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार निजी क्षेत्रबाट ६७ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएको छ । विद्युत ऐन २०४९ ले नेपालमा पहिलोपटक निजी क्षेत्रले समेत विद्युत उत्पादन गर्न सक्नेगरी खुला गरेपछि २०५१ सालमा हिमाल पावर लिमीटेडले ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको लाइसेन्स पाएकोमा २०५७ सालदेखि उत्पादन सुरु गरेको थियो । त्यसपछि मात्र निजी क्षेत्रले यति धेरै क्षमतामा विद्युत उत्पादन गर्न सकेको हो ।

वि. सं. १९६९ सालमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत आयोजनाको निर्माण सुरु भएको थियो भने २०१७ पछि विद्युत कर्पोरेसन, विकास समिति र २०४१ पछि विद्युत प्राधिकरणमार्फत सरकारले विद्युत उत्पादनका आयोजनाहरू अघि बढाउँदै आएको छ । प्रजातन्त्र पुनस्र्थापनापछि लिइएको उदार अर्थतन्त्र अनुसार निजी क्षेत्रलाई विद्युत उत्पादनमा खुला गरिएको हो । विद्युत उत्पादनमा अग्रसर बनेको निजी क्षेत्रले हाल ३ हजार मेगावाट बराबरको आयोजना निर्माण गरिरहेको छ भने ५ हजार मेगावाट बराबर आयोजना अघि बढाउनका लागि विद्युत खरिद सम्झौता (पीपीए) का लागि विद्युत प्राधिकरणमा आवेदन दिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार दुई दशकमै सरकारको भन्दा केन्द्रीय ग्रीडमा निजी क्षेत्र उत्पादन क्षमता बढी रहेको छ । विभिन्न समस्याका बाबजुद पनि यसलाई निजी क्षेत्रको सफलता मान्नुपर्छ, निर्माणाधीन आयोजनाहरू हेर्दा पनि ३ हजार ५ सय मेगावाटको छ भने ५ हजार मेगावाट पीपीएको प्रतिक्षामा छन्– गुरागाईंले भने । विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार केन्द्रीय ग्रीडमा जोडिएको हाल विद्युत प्राधिकरणको उत्पादन ४ सय ७३ मेगावाट छ भने पछिल्लो समयमा निजी क्षेत्रको उत्पादन ४ सय ७७ मेगावाट पुगेको छ ।

केन्द्रीय ग्रीडमा नजोडिएका प्राधिकरण अन्तर्गत २३ एक मेगावाट भन्दा कम क्षमताका आयोजनाहरू पनि छन् । तर, त्यसको क्षमता साढे चार मेगावाट मात्र छ । निजी क्षेत्रबाट मात्र प्राधिकरणको हिउँदमा १ सय ५० मेगावाट र असारसम्ममा २ सय ५० मेगावाट उत्पादन आउने लक्ष्य राखिएको छ, निजी क्षेत्रको उत्पादन बढ्दो छ, उनले भने, मध्यमस्र्याङ्दी पछि विद्युत प्राधिकरणद्वारा निर्माणाधीन कुनै आयोजनाहरू पूरा भएका छैनन्, चमेलियाको भने छिट्टै उत्पादन सुरु हुन्छ ।

ओखलढुंगामा निर्माण भएको ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरिसकेको छ भने ८ मेगावाटको अपी, २५ मेगावाटको काबेली लगायतका जलविद्युत आयोजनाहरू छिट्टै उत्पादन हुने इप्पानका अध्यक्ष गुरागाईंको भनाई छ ।