काठमाडौँ, मंसिर २९ । संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको रक्षामन्त्री भीमसेनदास प्रधानले बताएका छन् ।
शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा आज शहीद शुक्र माध्यमिक विद्यालयद्वारा आयोजित ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक पत्रिका विमोचन’ समारोहमा उनले शुक्र माविले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी शिक्षा प्रदान गर्नुपर्ने बताए । मन्त्री प्रधानले भने– जनताको हक, अधिकार र मुलुकको विकासका लागि शहीदहरुले सहादत प्राप्त गरेका थिए अब त्यो सपनालाई हामीले पूरा गर्नुपर्छ । उनले राणा शासन बिरुद्ध लड्दै गर्दा सहादत प्राप्त गरेका चार शहीदमध्ये तीन शहीदको नाममा विभिन्न पूर्वाधार स्थापना भए पनि धर्मभक्तको नाममा केही नबनेकाले उनलाई सम्झने गरी अस्पताल निर्माण गर्नुपर्ने विचार व्यक्त गरे ।
निर्वाचनमा काँग्रेसले हारेर पनि देशले जितेको भन्दै मन्त्री प्रधानले अब सुशासन कायम गरी मुलुकलाई आर्थिक विकासको बाटोतर्फ अघि बढाउनुपर्ने बताए । पूर्वसभामुख दमननाथ ढुङ्गानाले शहीदले मुलुकको विकास र समृद्धिका लागि देखेको सपना पूरा भए मात्र सहिदहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् । उनले नयाँ सरकारले शिक्षाको विकासका लागि छुटृै नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझावसमेत दिएका थिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा उत्कृष्ट हुने गरी पठनपाठन गराउन सुझाव दिएका छन् । शाक्यले नयाँ संरचना अनुुुसार शिक्षा क्षेत्र स्थानीय तहबाट सञ्चालन हुन लागेको भन्दै राम्रो नतिजा दिने विद्यालयलाई महानगरले राम्रो सहयोग गर्ने प्रतिबद्धता गरे ।
विद्यालयका अध्यक्ष होमप्रसाद खड्गी, कामनपा उपप्रमुख हरिप्रभा खड्गी, प्राज्ञ दिनेशराज पन्त, विद्यालयका प्रधानाध्यापक मञ्जु तुलाधर लगायतले शहीदको नाममा स्थापना गरिएका विद्यालयको विकास र विस्तारका लागि राज्यको ध्यान जानुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नाका साथै विद्यालयबाट प्रत्येक महिना प्रकाशित हुने ‘शृङ्खला’ नामक साहित्यिक मासिक पत्रिकाको विमोचन पनि गरिएको छ ।