कभर स्टोरी

कांग्रेसमा कार्यशैली र कार्यदिशा परिवर्तनको खाँचो

By Bala Adhikari

December 18, 2017

काठमाडौं,पुस ३ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले नराम्रोसँग हार बेहोरेपछि नेपाली कांग्रेसभित्र नेतृत्वले राजीनामा दिनुपर्ने लगायतका तर्क वितर्क उठ्न थालेका छन् । नेतृत्व तहको कमजोरी, टिकट वितरणमा पक्षपात, नातावाद कृपावादको हाबी, लगायतका आरोप लगाउँदै सभापति शेरबहादुर देउवाको अदूरदर्शिताकै कारणले नै पार्टीले हार बेहोर्नुपरेको निष्कर्ष निकाल्दै रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षका नेताहरुले विरोध गर्दै आएका छन् ।

पार्टी भित्र आ–आफ्नो जिम्मेवारी भुल्दै एक तर्फि रुपमा देउवालाई मात्र आरोप लगाउनु कतिसम्म जायज हो भन्ने वरिष्ठ नेताहरुले भुलेको कुरा देउवा निकट मानिएका केही नेताले आरोप लगाउँदै आएका छन् भने देउवा निकट मानिएका केही नेताले पनि देउवाको कार्यशैलीका कारण नै पार्टी पराजित अवस्थामा पुगेको भन्दै यसको दोष उनले बोक्नुपर्ने बताइरहेका छन् । कांग्रेसका एक प्रभावशाली नेताले भने, “चुनावका बेला देउवा छोइनसक्नुका थिए । हामीलाई समेत वास्ता गरेनन् । आफ्नो कोटरीका मान्छे भए हुन्छ भन्ने व्यवहार देखाए । चुनावमा पार्टी पराजित उनकै व्यवहार र कार्यशैलीकै कारण भएको हो । पहिले माओवादीसँग किन मिल्न गएको ? अनि एमालेसँग जाँदैछ भन्ने थाहा पाउँदा–पाउँदै किन रोक्न नसकेको ? यो नै हारको मुख्य कारण हो । पार्टीभित्रको चरम गुटबन्दी नै कांग्रेसको हारका अन्य कारक भएको ती नेताले बताए । नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नेहरुमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसीलगायत नेताहरु छन् । उनीहरुले आन्तरिक छलफलाई पनि तीव्रता दिएका छन् । कांग्रेस नेता प्रकाशमान सिंह पार्टी हारको जिम्मा नेतृत्वले नै लिनुपर्ने बताउँदै पार्टीमा सुधारको जरुरी रहेको सिंहको ठहर छ । हारको जिम्मा नेतृत्वले नै लिनुपर्छ जिकिर उनको छ । पार्टी कार्यकर्ताको भावनाअनुसार पार्टी नेतृत्वले पनि अब निर्णय लिनैपर्ने उनले बताउँदै आएका छन् । कांग्रेस नेता गगन थापाको पनि कांग्रेसमा अब सानोतिनो सुधारले नहुने ठहर छ । थापाले राजीनामा समस्याको समाधानमात्रै होइन होला, तर जिम्मेवारी कसैले लिनुपर्दैन भन्ने पनि होइन ।

कांग्रेसमा सानोतिनो सुधारले अब हुँदै हुँदैन । यसको पुनर्संरचना गर्नैपर्छ । यसको श्रृङ्खला कहाँबाट सुरु हुन्छ भने केन्द्रीय समितिको बैठक बोलाएर त्यसले महासमितिमा जाने निर्णय गर्नुपर्छ । महासमितिले नै धेरै कुराको छिनोफानो गर्ने अधिकार राख्दछ । पर्यो भने ‘अर्लि’ महाधिवेशन या विशेष महाधिवेशन गर्नुपर्ने अभिव्यक्ति प्रकट गर्दै आएका छन् । थापाका अनुसार पार्टीको पहिलो पुस्ताका नेताहरुले स्वेच्छाले नयाँ भूमिकाको खोजी गर्नुपर्ने ठहर छ । त्यो भनेको संरक्षक हो ।”थापाले त्यसबाहेक आफ्नो पुस्ताका सबै नेता जिल्ला–जिल्लामा संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिदै आएका छन् । “उहाँहरुलाई हामीले अपमान गर्नु पनि हुँदैन । शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत नेताहरुले अभिभावक भएर बस्छौं भन्ने हिम्मत राख्नुपर्छ र उहाँहरुले भन्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउन हामीले सक्नुपर्छ । मेरो पुस्ताको साथी अब तल्लो तहमा गएर काम गर्नुपर्ने अवस्था आएको छ थापाले प्रष्ट्याए । जिल्ला–जिल्लामा गएर काम गर्ने हो । त्यतिले मात्रै पुग्दैन उनले भने । जसले जिम्मा लिन्छ, उसले पार्टीका एजेण्डालाई स्पष्ट पार्नुपर्छ । हामी को हौं भन्ने स्पष्ट हुनुपर्छ । हामीले कसैको बारेमा चिन्ता नगरी स्पष्ट ढंगले अघि जानैपर्छ । जनतासँग फेरि जोडिनुपर्छ त्यस पश्चात कांग्रेसको संगठन तथा संमृद्धीमा सुधार आउँछ । तर, देउवा निकटका नेताहरु भने अहिले नेतृत्वलाई दोष दिने बेला नभएको तर्क गर्छन् । सभापतिले किन राजीनामा दिने ? देउवा निकट एक नेता भन्छन्न् ।

सबै कुरामा भाग चाहिने अनि हार सभापतिको कारणले मात्रै हुन्छ ? सरकारमा जाने, टिकट वितरण गर्ने बेलामा रामचन्द्र पौडेल, खुमबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंह सबैलाई भाग चाहिने, अहिले सबै जिम्मा सभापतिले मात्रै लिनुपर्ने ?”कांग्रेस नेता एनपी साउद निर्वाचनमा पराजय भोगेको बेला पार्टीभित्रै आन्तरिक झगडा बढाउन खोज्नु पार्टी विरोधी क्रियाकलाप भएको दाबी गर्छन् । ‘‘पार्टीले पराजय भोगेका बेला आन्तरिक झगडा बढाउन खोज्नु पार्टी विरोधी क्रियाकलापमात्रै हो,’’ साउदले भने, ‘‘कसैलाई सभापति हुन मन छ भने महाधिवेशनको प्रक्रियामा गए भयो, हुट्टिट्याउँले आकाश थामेजस्तो दम्भ नदेखाउँदा हुन्छ ।

’’नेतृत्वको कमजोरीका कारण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अकल्पनीय पराजय भोग्नुपरेको भन्ने कांग्रेसकै कतिपय नेताहरुको भनाइको साउदले खण्डन गरे । स्वास्थ्यमा कुनै समस्या नभएको, ६–५ पटक चुनाव जितेको, महाधिवेशनबाट नेतृत्वमा चयन भएको, चार पटक मुलुकको नेतृत्व सम्हालिसकेको, प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा संलग्न, प्रजातन्त्रकै लागि १० वर्ष जेलनेल भोगेको व्यक्ति कमजोर हुनै नसक्ने नेता साउदको जिकिर थियो । देउवा निटक अर्का केन्द्रीय सदस्य रमेश लेखकले पनि अहिले सभापतिको राजीनामा मागेर पार्टीभित्र द्वन्द्व र बिग्रह पैदा गर्ने समय नभएको बताए ।

निर्वाचनको सुक्ष्म ढंगले विश्लेषण गरेर पार्टीलाई बलियो बनाएर अघि जाने समय आएको उनको भनाइ छ । ‘‘चुनावमा पराजय भोगेकै आधारमा अहिले सभापतिको राजीनामा माग्ने समय होइन,’’ लेखकले भने, ‘‘चुनावलाई सुक्ष्म विश्लेषण गरेर थप एकतावद्ध भएर पार्टीलाई थप ऊर्जा दिन आवश्यक छ ।

’’भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस पराजित भए पनि समानुपातिकको मत परिणाम हेर्दा देशभरी कांग्रेसको मत नघटेको उनको भनाइ छ । ‘कम्युनिष्टहरुको राजनीतिक मोर्चाबन्दीले प्राविधिक रुपमा कांग्रेसको सिट घटेको हो । तर, समग्रमा देशभरी समानुपातिकको परिणाम हेर्दा कांग्रेसको मत घटेको छैन,’’ उनले भने । नेपाली कांग्रेस भित्र पराजय बेहोरेका नेताहरुले विभिन्न कारणले आफुले पराजय भोग्नु परेको बताउँदै पार्टी भित्र अनुशासनलाई चुस्त दुरुस्त बनाउन पार्टी नेतृत्वलाई दवाव दिदै आएका छन् । पार्टी भित्र आफुभन्दा अरु सब खराब भन्ने प्रवृत्ति मौलाउँदै गएको पार्टीका वरिष्ठ नेताहरुको आरोप छ । पार्टीलाई एक ढिक्का बनाएर ससक्त रुपमा अघि बढ्न र संगठन बनाउने कार्यमा कांग्रेस आजैदेखि नलागे आगामी दिनमा कांग्रेस नसोचेको स्थानमा पुग्ने विश्लेषकहरु बताउँछन् ।