कभर स्टोरी

नवराज सिलवाललाई तत्काल पक्राउ गर्न निर्देशन

By Bala Adhikari

December 24, 2017

काठमाडौं, पुष ९ । पूर्वडिआइजी तथा सांसद नवराज सिलवाललाई तत्काल पक्राउ गर्नका लागि नेपाल प्रहरीका प्रमुख महानिरीक्षक प्रकाश अर्यालले निर्देशन दिएका छन् । अर्यालले ललितपुर प्रहरीलाई फर्जी काण्डमा मुछिएका सिलवाललाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

सर्वोच्च अदालतको आदेश अनुसार आफूहरु सिलवाललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन वाध्य भएको उच्च प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरी मुद्दा दर्ता भइसकेकाले पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै पक्राउ गरी प्रक्रिया अगाडि बढाउन वाध्य भएको हो । ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुरु गरेको हो । सिलवाल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो ।

अदालतको आदेशलाई काठमाडौं जिल्ला प्रहरीले समन्वय गरेर ललितपुर प्रहरीलाई पक्राउ गर्न भन्नु पर्नेमा जवरजस्ती प्रहरी प्रमुखले नै आदेश दिनु परेको हो । ललितपुर प्रहरी प्रमुख सिलवालप्रति नरम देखिएको र काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुक बाम गठबन्धनसंग नजिक भएकाले प्रहरी संगठनमा नवराज पक्राउ काण्डलाई लिएर समस्या भएको हो । धानुक माओवादी केन्द्रका नेता जनार्दन शर्मा गृहमन्त्री भएका बेलामा काठमाडौंमा ल्याइएका थिए । सर्वोच्चको आदेशको मर्यादा उल्लंघन गरेकाले उनीहरुलाई गृह प्रशासनले सरुवा गर्ने सम्मको कुरा पनि चर्चामा आएको छ । सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए । त्यसपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्य सम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो ।

आदेश अनुसार सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो । त्यसमा पनि असन्तुष्टी जनाउँदै सिलवाल फेरि सर्वोच्च गएका थिए । उनले आफू अन्यायमा परेको भन्दै राजनीतिबाटै समाधान खोज्न एमालेमा प्रवेश गरेको भन्दै त्यसलाई चुनावी एजेण्डा नै बनाएर ललितपुर १ बाट चुनाव नै जिते । उनले सपथ लिइसकेका छैनन् ।

त्यस अघि नै उनलाई सर्वोच्चमा बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ । सिलवालले बदमासी गरेको ठहर भएमा उनको सांसद पद खोसिने भएको छ ।