कभर स्टोरी

आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता : महरा

By Bala Adhikari

December 24, 2017

दाङ, पुष ९ । नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने नेकपा (माओवादी केन्द्र)का नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताएका छन् ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङले आज आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उनले सकारात्मक सोचबाट गरिएको सानै कामले पनि समुन्नत समाज निर्माण गर्ने अभियानलाई सार्थक बनाउन मद्दत पुर्याउने विचार व्यक्त गरे ।

प्रतिनिधिसभाका उम्मेदवार रहेका बखत सबैबाट आशीर्वाद र सहयोग प्राप्त भई आफूले विजय हासिल गर्न सकेको बताउँदै उनले विश्वस्तरमा आफ्नो पहिचान बनाउन सफल ब्रह्मकुमारी संस्थाले समाज रुपान्तरणका लागि समाजका हरेक क्षेत्र, वर्ग, पेशा व्यवसायका मानिसलाई निःस्वार्थ रुपले सेवा गरिरहेको हुँदा संस्थाको विकासमा आफू सदैव लागिरहने बताएका छन् ।

राजयोगिनी ब्रह्मकुमारी गीता दिदीले आहार, विचार र चरित्रमा सुधारको आवश्यकता बोध नगर्दा समाज विखण्डन र दूषित मानसिकताबाट शिकार भइरहेको बताए ।