विदेश

चक्रवातका कारण भारतमा एक महिनामा ६६० जना बेपत्ता

By Bala Adhikari

December 28, 2017

नयाँदिल्ली, पुस १३ । धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन् । श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बुधबार बताएका छन् । गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको मृत्यु भएको पुष्टी भइसकेको छ ।

प्रतिघण्टा १३० किलोमिटरको गतिमा आएको चक्रवातले रुख बोटविरुवा उखेल्नुका साथै विद्युत र टेलिफोनका संरचनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएका छन् भने दशौँ हजार घर ध्वस्त भएका छन् । भारतका रक्षा मन्त्री निर्मला सीता रमणले ६६१ जना माझी अहिलेसम्म बेपत्ता भएको संसदलाई जानकारी गराएकी छिन् । तर उनले उनीहरूको मृत्यु भइसकेको भन्न भने नमिल्ने बताएकी छिन् ।

बेपत्ता भएकामध्ये ४०० जना तमिल नाडुबाट र अरू २६१ जना केरलाबाट बेपत्ता भएका हुन । रक्षा मन्त्रीले रक्षा मन्त्रालय र अन्य विभिन्न निकायहरूले ८४५ जनाको उद्धार गरेको पनि जानकार गराइन । भारतको पूर्वी तटिय क्षेत्रमा हरेक वर्षको अप्रिलदेखि डिसेम्बरसम्म चक्रवातका कारण धेरै जनाको मृत्यु हुनेगरेको छ । सन् १९९९ मा आएको चक्रवातले आठ हजार जनाको ज्यान लिएको थियो ।