कभर स्टोरी

सोलार बिजुलीको उपयोगबाट ६५ परिवार लाभान्वित

By Bala Adhikari

December 29, 2017

मोरङ, पुस १४ । उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने मोरङको अति दुर्गम र विकट क्षेत्रका रुपमा चिनिने रमितेखोलाका बासिन्दा विजुली बत्ती उत्पादन हुने भएपछि निकै खुशी देखिन्छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन शुरु गरिएपछि स्थानीयवासी हर्षित बनेका हुन् । त्यहाँका स्थानीयवासीले सोलार मिनीग्रिड निर्माण उपभोक्ता समिति गठन गरेर सोलारबाट बिजुली उत्पादन गर्न थालेका हुन् । सोलारबाट ३० किलोवाट बिजुली उत्पादन गरेर उपभोक्तालाई वितरण गरिएको समितिका अध्यक्ष पर्वत राईले बताएका छन् । रु एक करोड ६० लाखको लागतमा सोलारबाट बिजुली उत्पादन गरेको राईले जानकारी गराएका छन् ।

विद्युत उत्पादनका लागि एशियाली विकास बैंक (एडिबी)को ९० प्रतिशत, उपभोक्ता, वडा कार्यालय र जिल्ला समन्वय समितिको १० प्रतिशत लगानी लागेको उनको भनाइ छ । बिजुलीको उपयोगबाट ६५ परिवार लाभान्वित भएका छन् ।

त्यसबाहेक विद्यालय, वडा कार्यालय, तीनवटा सहकारी, स्वास्थ्य चौकी समेतमा विद्युत सेवा पुर्याइएको छ । राईका अनुसार सोलार प्यानलबाट ब्याट्रीमा पुगेको पावरलाई इन्भर्टरले एसी (अल्टरनेटिभ करेन्ट) बनाएर प्रवाह गर्छ ।