काठमाडौँ, पुस १४ । समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको नेपाली काँग्रेसले बताएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउने पार्टी कार्यालयले जानकारी गराएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पार्टीका वरिष्ठ केन्द्रीय सदस्यहरुले पनि उपस्थिति जनाएका छन् ।
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यीय छ । निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा अनुसार दलले आज कार्यालय समयभित्र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ पाएको सिट संख्या अनुसार सदस्यको नामावली बुझाइ सक्नुपर्नेछ ।
बैठकमा दुई महिनादेखि राष्ट्रपति कार्यालयमा रोकिएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, हालै सम्पन्न निर्वाचनमा पार्टी पहिलो स्थानबाट दोस्रो स्थानमा झरेका ेलगायत समसामयिक राजनीति विषयमा छलफल गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।