कभर स्टोरी

 काँग्रेस हारे पनि देशले जित्नुपर्ने : शर्मा

By Bala Adhikari

January 02, 2018

चितवन, पौष १८ ।  अहिलेको निर्वाचनमा अंकगणितीय रुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताएका छन।

सोमबार नेपाली काँग्रेस चितवनद्वारा  आयोजित ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उनले काँग्रेसको हार भएपनि बिपीको विचारको जित भएको बताएका हुन ।

बिपीको विचारलाई मनन गर्दै कम्युनिष्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट काँग्रेसका कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन । उनले बल र बन्दुकबाट सत्ता प्राप्ति हुन सक्दैन भन्ने बिपीको विचारमा कम्युनिष्ट आइरहेको भन्दै काँग्रेस हारे पनि देशले जित्नुपर्ने बताए । मधेश—पहाड—तराईलाई कांग्रेसले जोड्न सकेको भन्दै उनले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता औल्याए। बिपीको विचारलाई परिस्कृत गर्दै समाज रुपान्तरण र पार्टी रुपान्तरणमा जानु आवश्यक रहेको नेता शर्माको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य बद्रि पाण्डेले नेपालको राजनीतिमा अझै मेलमलापको आवश्यक परेको उल्लेख गरे। अहिले राजनीतिक मुद्दा सकिएको भन्दै उनले अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको बताए ।

प्रजातन्त्रमा सबैको जित हुने भन्दै उनले सबै दलमा सहिष्णुताको आवश्यकता रहेको बताए । अब काँग्रेसजनले व्यक्तिगत इच्छालाई थाति राख्दै पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न जरुरी रहेको पाण्डेको भनाइ छ ।