कभर स्टोरी

सभापति देउवाले चुनावी परिणामको समीक्षा बैठक छिटै बोलाउने प्रतिबद्धता

By Bala Adhikari

January 02, 2018

प्रधानमन्त्री देउवाले मंगलबार बिहान सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग मुलुकको पछिल्लो समसामयीक राजनीतिक घटनाक्रमका बारेमा विशेष छलफल गरेका छन् । शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले चुनावी परिणामको समीक्षा गर्न चाँडोभन्दा चाँडो पार्टीको केन्द्रीय समिति र महासमिति बैठक बोलाउने प्रतिवद्धता जाहेर गरेका छन् । ‘‘बैठकमा सभापतिज्युले चुनावी समीक्षा गर्न चाँडै केन्द्रीय समिति र महासमिति बैठक बोलाउँछु भन्नुभएको छ,’’ बैठकमा सहभागी कांग्रेस नेता तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले भने । कांग्रेसका शीर्ष नेताहरु पार्टी सामु आइपर्ने चुनौती सामना गर्न एकतावद्ध र अनुशासित भएर अघि बढ्न एकमत देखिएको खाँणले बताए । चुनावको परिणामले पार्टीका लागि आइपर्ने चुनौतीहरुको सामना एकतावद्ध र अनुशासित भएर गर्ने बारेमा शीर्ष नेतृत्व एकमत देखिएको छ, हिजो के कस्ता कुरा भए अब सब बिर्सिएर शीर्ष नेताहरु अघि बढ्नु पर्छ नेता खाँणले जानकारी दिए ।

बैठकमा सहभागी शीर्ष नेताहरुले पार्टी सभापति देउवालाई छिट्टै राष्ट्रिय सभाको निर्वाचन मिति तोक्न र प्रदेश प्रमुखहरु नियुक्त गरेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सल्लाह दिएका छन् । नेता खाँणका अनुसार सभापति देउवाले जवाफमा अन्य दलहरुसँगको परामर्शमा राष्ट्रय सभाको निर्वाचन मिति तोक्ने र प्रदेश प्रमुखहरुको नियुक्ति प्रक्रिया अघि बढाउने बताएका छन् । सरकारले प्रदेश प्रमुखहरु नियुक्त गरिसकेपछि राष्ट्रिय सभाका लागि निर्वाचन मिति तय गर्ने खाँणले बताए ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्याक्ष चित्रलेखा यादव, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. रामशरण महत, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो