कभर स्टोरी

शेरबहादुर देउवाका ७ ‘ओपन सेक्रेट्स’

By Bala Adhikari

June 06, 2017

२३ जेठ, काठमाडौं । डडेलधुराको साविक अशोकग्राम गाविस वडा नम्बर ५ मा वि.सं. २००४ साल जेठ ३० गते जन्मिएका शेरबहादुर देउवा चौथोपटक नेपालको प्रधानमन्त्री बनेका छन् । आगामी साता देउवाले बालुवाटारमा ‘ह्याप्पी बर्थ डे’ मनाउनेछन् र उनी ७१ वर्षमा प्रवेश गर्नेछन् ।

हाल काठमाडौंको बूढानीलकण्ठमा बसोबास गर्दै आएका कांग्रेस सभापति देउवा एकजना भाग्यमानी सुदुरपश्चिमे नेता हुन्, जसले जीवनमा पटक-पटक सिंहदरबारको सयर गरे । उनी सिंहदरबारको सिंहासनमा मात्रै बसेनन्, आफ्नो जीवनको सुदुरपश्चिमे वर्गीय-क्षेत्रीय धरातल र जीवनशैलीमा समेत आमूल परिवर्तन ल्याउन सफल भए । पुरानो राणाशाही कुलीन परिवारसँग उनको पारिवारिक सम्बन्ध जोडियो, जुन दक्षिण एशियाको बंशीय राजनीतिमा निकै अर्थपूर्ण छ ।

शेरबहादुरका पिता प्रसादसिंह देउवाले गणतन्त्र आएपछि आफ्नो छोरो चौथोचोटि प्रधानमन्त्री बनेको देख्न पाएनन् । पिता प्रसाद सिंह र माता द्रौपदी देवीको निधन भइसकेको छ ।

प्रधानमन्त्री देउवाकी जीवनसंगिनी आरजू राणा अहिले नेपाली कांग्रेसबाट सांसद छिन् । उनी शेरबहादुरको प्रगतिकी द्रष्टा मात्रै होइनन्, स्रष्टा पनि हुन् ।

आफ्ना सालाहरुको व्यवसायिक भोकलाई राजनीतिको माध्यमबाट तृप्त पार्नु बाहेक शेरबहादुर देउवासँग कुनै पारिवारिक-व्यक्तिगत लेठो छैन । आफ्ना एकमात्र छोरा जरयवीरसिंह देउवा लण्डनमा छन् । छोरो बिरामी भएको भन्दै आरजू राणा केही महिनाअघि बेलायत गएकी थिइन्, हाल उनी नेपाल फर्किइसकेकी छिन् ।