कभर स्टोरी

एमाले र माओवादी पार्टी एकीकरण केन्द्रित, राष्ट्रियसभाको चुनावका लागि दल दर्ता बाँकी

By Bala Adhikari

January 09, 2018

काठमाडौँ,पुस २५ । निर्वाचन आयोगमा राष्ट्रियसभाको चुनावका लागि अहिलेसम्म १० राजनीतिक दलले मात्र दल दर्ता गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पछि ठूलो दल बनेको बाम पार्टी एकताको चटारोमा लाग्दा राष्ट्रियसभाका लागि दल दर्ता ढिलाइ भएको हो ।

माघ २४ गते हुन लागेको चुनावका लागि अहिलेसम्म १० राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले बताएका छन् ।

ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित मधेशवादी दलले पनि अझै दल दर्ता नगरेको धर्मचन्द्रले बताए । उनका अनुसार नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी) र विवेकशील साझा पार्टीले दल दर्ता गरेका छन् ।

आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् ।