कभर स्टोरी

शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पाँच जना सम्मानित

By Bala Adhikari

January 09, 2018

काठमाडौं,पुस २५ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज विराटनगरमा पाँचजना सञ्चारकर्मीलाई एक कार्यक्रमका बीच सम्मान गरेका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकारिता पुरस्कार तथा सम्मान समर्पण कार्यक्रममा शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेल, उद्घोष दैनिकका पत्रकार विक्रम निरौला र उर्लाबारीका पत्रकार रुपेन्द्र शर्मालाई सम्मान गरिएको थियो । सो अवसरमा पुरस्कृत पत्रकारलाई सम्मानपत्रका साथै जनही रु १५ हजार प्रदान गरिएको थियो ।

सोही अवसरमा मन्त्री बस्नेतले ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’बाट मकालु टेलिभिजनका पत्रकार अभयकुमार राई र पत्रकार भारती उपाध्यायलाई सम्मान गरेका छन् । पुरस्कृत व्यक्तिहरूलाई सम्मानपत्रसहित जनही रु १५ हजार प्रदान गरिएको थियो ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले शैलजा आचार्य प्रष्ट वक्ता, स्वच्छ छविका साथै प्रजातन्त्रप्रति समर्पित रहेको बताए । शैलजा आचार्यजस्ता व्यक्तित्वको नेपाली काँग्रेसमा अभाव खड्किएको बताउँदै उनले नेतासमक्ष पार्टीका कमीकमजोरीबारे बोल्न नसक्ने र कूटनीतिक रुपले काम गर्न नसकेकाले नेपाली काँग्रेस धरापमा परेको बताए ।

उनले सरकारले चाँडै नै प्रदेश प्रमुखको नियुक्ति गर्ने र अस्थायी प्रादेशिक राजधानी तोक्ने विषयमा दलहरुबीच सहमति गर्न प्रधानमन्त्रीले सहमति गरी निर्णय गर्न खोजेको प्रष्ट परेका छन् । मन्त्री बस्नेतले विराटनगरबाट गोरखापत्र दैनिकको दोस्रो संस्करण वैशाखभित्रै प्रकाशन गर्ने तयारी भइरहेको र यस विषयमा आजै विराटनगरमा गोरखापत्र संस्थानको सञ्चालक समितिको बैठक बस्न लागेको बताए ।

लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले काँग्रेसले अभिभावकत्वको भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि त्यस्तै भूमिका निर्वाह गर्ने बताए । सोही अवसरमा रु १५ हजार राशिबाट पुरस्कृत भएका न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेलले विपन्न अवस्थामा रहेका नेत्रहीन निकेश थापामगर, कृष्ण कोइराला ‘चारघरे’ र रमेश भट्टराई ‘पाखे’ लाई रु पाँच–पाँच हजारका दरले रकम प्रदान गरेका छन् ।