समाचार

भक्तपुरका चोक चोकमा सिसी क्यामरा जडान

By Bala Adhikari

June 09, 2017

भक्तपुर, २६ जेठ । बाक्लो बस्ती भित्र भक्तपुर जिल्लामा चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक÷चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाले प्रदान गरेको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा महानगरीय प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी गराएको छ । पछिल्लो समयमा आएर बढ्दै गएको आपराधिक गतिविधिको न्यूनिकरणका लागि मध्यपुरथिमि क्षेत्रमा सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले बताएका छन् । जनताको सुरक्षाका लागि प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । प्रहरीले अरनीको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोक चोकमा र पुरानो बाटोको बाहाखा बजारलगायत सर्वसाधारणको भिडभाड हुने चोकमा क्यामरा जडान गरी दैनिकको  निगरानी प्रारम्भ गरेको छ । सिसी क्यामरा जडानसँगै चोरी, डकैती, लुटपाट लगायतका अन्य आपराधिक गतिविधिमा कमी आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारी चालकलाई नियन्त्रण गर्न विशेष राहत पुग्ने ओलीको भनाइ छ । नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले मध्यपुरलाई सुरक्षित नगरको रुपमा विकास गर्नका लागि सिसी क्यामरा जडान गर्न सहयोग गरेको बताएका छन् ।