इनरुवा, माघ २ । सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको दम रोगका कारण आज बिहान इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा निधन भएको छ ।
७१ वर्षीय थापाले केही सातायता नियमित औषधि सेवन गरिरहेका थिए । उनी पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा कहलिएका थिए । उनले २०४७ फागुन २४ गते योद्धा पत्रकारको उपनामसहित ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ समेत पाएका थिए ।
‘मातृभूमि’ साप्ताहिकबाट पत्रकारिताको थालनी गरेका थापाले ‘प्रगति’, ‘करेन्ट’लगायत विभिन्न छापामाध्यममा काम गरिसकेका थिए । उनले पत्रकारिताका कारण विभिन्न समयमा गरी छ पटकमा तीन वर्ष नौ महिना १७ दिन कारागारमा विताएका थिए ।
थापाको निधनप्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन सुनसरी शाखाले दुःख व्यक्त गरेका छन् ।