कभर स्टोरी

अनिश्चितकालीन बन्दको घोषणा

By Bala Adhikari

January 17, 2018

दाङ, माघ ३ । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउनुपर्ने माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन बन्द गरिएको छ ।

दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन सञ्चालनमा आएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द छन् ।

त्यसैगरी जिल्लाका तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ बजार पनि बिहानैदेखि बन्द रहेका छन् । सडकमा नागरिक स्वतःस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ सडकखण्ड पूर्ण रुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् ।

दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताले राजधानी बनाउन षड्यन्त्र गरिरहेको भन्ने जानकारी पाएलगत्तै आफूहरुले जिल्लामा अनिश्चितकालीन बन्द गर्नुपरेको समितिका सदस्य–सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जनाएका छन् ।