कभर स्टोरी

ओलीले दिए ल्होछारको शुभकामना

By Bala Adhikari

January 18, 2018

काठमाडौँ, माघ ४ । सोनम ल्होछार–२०७४ का अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा १२५ जाति र १२३ भाषाभाषी भएको देश हो, यहाँ बसोबास गर्ने हरेक जातिका आफ्ना अलग अलग संस्कृतिहरु रहेको पाइन्छ । एक जातिको संस्कृति र चाडपर्वमा अर्को जातिले पनि साथ दिने परम्परागत प्रचलन रहेको उनको भनाइ छ ।

केही समय अगाडि नेपालको जातीय सद्भावलाई बिथोल्न धेरै प्रयासहरु गरिए तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर पाखा लगाएका थिए ।

जातीय एकता, धार्मिक सहिष्णुता नेपालको पहिचान हो । यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने आवश्यकता रहेको सन्देशमा उल्लेख गरिएको छ । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा मूलतः राजनीतिक संक्रमणकाल सकिएको, त्यसकारण अब सबैको ध्यान विकास र समृद्धिमा छ उनले भने ।

देशको मूल प्राथमिकतालाई सम्पूर्ण तामाङ समुदायले पनि साथ र सहयोग दिनेछन् भन्ने विश्वास लिएको पनि ओलीले बताए ।

त्यसैगरी, सोनाम ल्होछारको उपलक्ष्यमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश दिँदै उनले विविध जातजाति, धर्म, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यस प्रकारका चाडपर्वले आपसमा प्रेम, सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ पार्नसमेत प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

तामाङ समुदायमा यो पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासपूर्ण एवं आपसमा खुशी साटासाट गरी मनाउने गरिन्छ ।